• २१ असार २०८१, शुक्रबार

अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन

blog

काठमाडौं, पुस ९ गते । काठमाडौंका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौं महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्वासी बासिन्दालाई उनीहरूको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ ।

आज (शनिबार) यहाँ नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् । अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरूको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने उनीहरूको भनाइ छ ।

“काठमाडौं महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजर अन्दाज गर्न सकिँदैन, उहाँहरूलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्छ”, नेवाःजातीय महासङ्घका अध्यक्ष मनोज नेवाःखड्गीले भन्नुभयो ।

उहाँले कुनै पनि नागरिकप्रति आफूहरूको वैरभाव नभएको बताउनुभयो । आफूहरूको सरोकार काठमाडौंको मौलिक पहिचानको संरक्षणका लागि मात्र भएको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा महासङ्घसँगै नेपाल खड्गी सेवा समिति, स्यस्यःसमाज, केन्द्रीय मानन्धर सङ्घ, नकःमि समाज सेवा पुचः (सङ्घ), राजोपाध्याय समाज, कसाःतध गुथी, नेपाल माली समाज, रजक समुदाय विकास सङ्घ, कपाली समाज, पुतुवार नगरकोटी राजवाहक विकास समाज, श्री नेपाल तुण्डकार समाज, ज्यापु महागुथी नेपाः, दि शाक्य फाउण्डेसन र चित्रकार (पुँ) समाजको सहभागिता थियो ।