जनार्जन खत्री
सर्लाही, पुस ९ गते । जिल्लाको प्रमुख सडकका रूपमा रहेको नवलपुर–मलङ्गवा सडक कालोपत्रे भएपछि यहाँका स्थानीयको अवस्था फेरिएको छ।
सडक कालोपत्रे भएपछि सडक आसपास घर भएका स्थानीय र यात्रुले धुलोबाट मुक्ति पाएका छन्। पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरदेखि सदरमुकाम मलङ्गवासम्मको यात्रा निकै सहज पनि बनेको छ। लामो प्रतिक्षापछि २५ किलोमिटर सडक भर्खरै कालोपत्रे भएको हो।
कविलासी नगरपालिका–८, अगर्वाका दिनेश रायले सडक कालोपत्रे भएपछि निकै सहज बनेको बताउनुभयो। रायले भन्नुभयो, “यो सडक नबन्दा कत्ति वर्ष धुलो खायौँ, घर छेउछाउका हामीहरू धुलोले कत्ति पटक बिरामी नै प-र्यौ। अहिले त ठूलो राहत मिलेको जस्तो भएको छ। जे होस् ढिलै भए पनि सडक कालोपत्रे भयो, अहिले त धुलोबाट मुक्ति पाएका छौँ।”
सडक बनेपछि सडक छेउछाउ घर भएकाहरूले ढुक्कले श्वास फेर्न पाएको रायले बताउनुभयो। धुलोले ढाक्ने सडक छेउछाउका स्थानीय बासिन्दा अहिले कालोपत्रे सडकबाट सवारी सञ्चालन हुँदा खुसी छन्।
सडक बनेपछि पूर्व–पश्चिम राजमार्गबाट सदरमुकाम मलङ्गवा पुग्न र मलङ्गवाबाट राजमार्गमा निस्कन पनि सहज भएको छ। सडक खाल्डाखुल्डीसहित अत्यन्तै धुलाम्मे हुँदा २५ किलोमिटर यात्रा गर्न दुई घण्टा लाग्थ्यो कालोपत्रे भएपछि समय आधा घण्टामा छोट्टिएको छ।
लालबन्दी नगरपालिका–२, जुटपानीका राजाराम पासवान सडक कालोपत्रे गराउन कयौँ पटक आन्दोलनमा उत्रनुपरेको स्मरण गर्नुहुन्छ। “धेरै सङ्घर्षपछि यो सडक बनेको हो, कत्ति पटक आन्दोलन ग-यौँ हिसाब किताब नै छैन,” पासवानले भन्नुभयो।
सडककै कारण आउजाउमा समस्या हुँदा सदरमुकाम मलङ्गवाको विभिन्न कार्यालयमा कार्यरत कर्मचारी यहीँ डेरा गरेर बस्थे। यात्रा सहज भएपछि घरबाटै कार्यालय धाउने गर्छन्।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत हरिवन निवासी प्रशासकीय अधिकृत राजकुमार थापाले नवलपुर–मलङ्गवा सडक बनेपछि घरबाटै सहज रूपमा कार्यालय आउने जाने गरिरहेको बताउनुभयो। ‘‘नियमित घरबाट आउने जाने गर्छु,” थापाले भन्नुभयो।
हरिपुर नगरपालिका–२ का मनोज पासवानले नवलपुर–मलङ्गवा सडक बनेपछि हरिपुर बजारका स्थानीयले पनि ठूलो राहत अनुभव गरेको बताउनुभयो। पासवानले धुलोबाट प्रभावित भई नहरको बाटो भएर वर्षौंसम्म यात्रा गर्न बाध्य भए पनि अहिले मूल सडक नै कालोपत्रे भएपछि यात्रा सहज भएको भन्दै खुसी व्यक्त गर्नुभयो।
नवलपुर–मलङ्गवा सडक कालोपत्रे गराउन स्थानीयसँग निर्वाचित सांसदलगायत पटकपटक आन्दोलनमा होमिएका थिए। जिल्लामा अहिले वर्षांैदेखि अलपत्र रहेको पूर्व–पश्चिम हुलाकी सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले निरन्तर आन्दोलन गर्दै आइरहेका छन्।