• २८ फागुन २०८१, बुधबार

अयौनिक व्यक्तित्व

blog

कुनै पनि लिङ्गको अर्काे व्यक्तिप्रति कुनै पनि उमेर वा अवस्थामा यौन आकर्षण महसुस नगर्ने व्यक्तिलाई अयौनिक भनिन्छ ।मानवीय यौनिकतालाई चार किसिममा बाँडेर अध्ययन गर्न सकिन्छ ।

१) विपरीत लिङ्गी– बहुसङ्ख्यक मानिस यस श्रेणीमा पर्दछन् । उनीहरू आफूभन्दा विपरीत लिङ्गीको स्वरूप वा हाउभाउबाट आकर्षित हुन्छन् र यौन सम्बन्ध राख्न रुचाउँछन् । जस्तै स्त्रीप्रति पुरुषको र पुरुषप्रति स्त्रीको यौन आकर्षण ।

२) समलिङ्गी– केही अल्पसङ्ख्यक मानिस आफ्नै लिङ्गको अरू मानिसको स्वरूप वा हाउभाउप्रति यौनाकर्षण महसुस गर्दछन् । समलिङ्गी यौन सम्बन्ध उनीहरूको रोजाइमा पर्दछ । जस्तै पुरुषप्रति पुरुष वा स्त्रीप्रति स्त्रीको यौन आकर्षण ।

३) उभयलिङ्गी– अर्काथरी अल्पसङ्ख्यक विपरीत लिङ्गी र समलिङ्गी दुवैथरीका मानिसप्रति समय र निकटताअनुसार यौनाकर्षणको अनुभूति गर्दछन् । अर्काे अर्थमा उनीहरू दोहोरो यौनजीवन बिताइरहेका हुन सक्छन् । जस्तै पुरुषको आफ्नी पत्नी तथा अर्काे समलिङ्गी पुरुषसाथ अलग अलग यौन जीवन वा 

अर्काेतिर स्त्रीको आफ्नो पति तथा अर्की स्त्री समलिङ्गीसँग अलग अलग यौन जीवन चलिरहेको हुन सक्छ ।

४) अयौनिक– माथि उल्लेख भएअनुसार कसैसँग पनि यौनाकर्षण महसुस नगर्नेहरू यस श्रेणीमा पर्दछन् ।

के अयौनिक व्यक्तित्व चौथो लिङ्गी हो ?

त्यसो होइन, यौनिक रूपमा अलग्गै स्वभाव र व्यक्तित्व बोके पनि उनीहरूको लैङ्गिक पहिचान अलग्गै भएको मानिँदैन । उनीहरू अयौनिक पुरुष वा अयौनिक स्त्री नै कहलिन्छन् ।

अयौनिक व्यक्तित्व अस्वस्थता वा यौन समस्या हो ?

अयौनिक व्यक्तित्वलाई अस्वस्थ भन्न नसकिए पनि यो जटिल यौन समस्याका रूपमा प्रस्तुत हुने गरेको छ । त्यति मात्र नभएर यसले बेलाबेलामा कहालीलाग्दो मनोवैज्ञानिक स्थिति पनि निम्त्याउन सक्छ ।

रागरस अर्थात् हर्मोनको बढ्दो प्रभावका कारणले किशोर अवस्थादेखि स्त्री, पुरुष दुवैले विपरीत लिङ्गीप्रति विभिन्न तरिकाबाट आकर्षण महसुस गर्ने तथा त्यसलाई अभिव्यक्त गर्ने क्रम सुरु हुन्छ । तेस्रो लिङ्गीहरू फरक यौनिकताका कारणले आफ्नो लैङ्गिक पहिचानका बारेमा अस्पष्टता र द्विविधाग्रस्त हुने उमेर पनि यही हो । किनभने त्यतिखेर उनीहरूको यौन व्यवहार बहुसङ्ख्यक भन्दा ठ्याक्कै फरक किसिमको हुन्छ तर अयौनिकहरूमा त्यस्तो हुँदैन ।

उनीहरूमा यौन आकर्षण र यौन चाहना नै नहुने हुँदा उनीहरूको व्यवहारलाई अरूले लाज कारण खुल्न नसकेको ठान्छन् । प्रभावित व्यक्तिले पनि आफ्नो समय नै आइनसकेका कारण आफू अरू जस्तो उच्छृङ्खल हुन नसकेको अर्थ लगाउँछ ।

भद्र र शालीन मानिएका अयौनिकहरू त्यतिखेर झस्किन्छन् जब उनीहरू दाम्पत्य जीवनमा प्रवेश गर्छन् । वैवाहिक जीवनमा यौन समागमको तयारीका क्रममा उनीहरू आफू अरूभन्दा फरक भएको निष्कर्ष निकाल्न बाध्य हुन्छन् । विवाहअघि यस्ता पुरुष आफू विवाहका लागि मानसिक रूपले तयार नभएको कारण देखाएर जोगिन सफल हुन्छन् । तर समाज र आमाबाबुको दबाबमा परेको हाम्रो पितृसत्तात्मक समाजका स्त्रीलाई यो स्वतन्त्रता हुँदैन ।

यथार्थमा यस्ता स्त्रीको शारीरिक बनोट र महिनावारीको लय सामान्य हुने हुँदा विवाहपछि सबै ठीक हुने र जायजन्म हुन सक्ने संरक्षकको भनाइ स्वीकारेर उनीहरू दाम्पत्य जीवनमा बाँधिन्छन् । यसमध्ये कति त पुरुषको सुख नै आफ्नो सुख मान्ने पराम्परागत मान्यतालाई स्वीकार गर्दै यौन सम्बन्धलाई पनि धान्न सक्ने क्षमता विकास गर्न पुग्छन् । कतिपय चाहिँ शारीरिक स्पर्श र यौनसम्पर्क राख्ने सोचाइ मात्रले पनि आफूलाई ग्लानि र वितृष्णा जाग्ने हुँदा त्यसो नगर्न दृढ रूपमा प्रस्तुत हुन्छन् ।

जब यौनसाथीको सहभागिता नभएको वा अपेक्षाभन्दा कम भएको अर्काेलाई महसुस हुन्छ अनि उनीहरू आत्तिएर उपचारको खोजीमा भौँतारिन थाल्छन् । कहिलेकाहीँ पारिवारिक दबाब झेल्न नसकेर उनीहरू आफ्नो मूल समस्यालाई थाती राख्दै बाँझोपनाको उपचार गरिने क्लिनिकतिर पनि धाइरहेका हुन्छन् ।

उमेर पुगेर विवाह बन्धनमा बाँधिएका र पढेलेखेका जोडी पनि यथेष्ट जानकारीको अभावमा यसैलाई स्वाभाविक मानेर धेरैपछि मात्रै रुग्ण मानसिक स्थिति लिएर यौनविज्ञ कहाँ पुग्छन् ।

धेरैजसो अवस्थामा यौनिकताको यो खिचलोले सम्बन्ध विच्छेदको अवस्था पनि ल्याउँछ । पारिवारिक र सामाजिक रूपमा समेत यसबारे धेरै अन्योल उत्पन्न हँुदा यौन विज्ञको सहारा माग्ने पनि थुप्रै हुन्छन् । यसरी यो अवस्था पारिवारिक कलहको कारण पनि बन्न सक्छ ।

उपरोक्त सबै अवस्थामा अयौनिक पुरुष भन्दा अयौनिक स्त्री निरीह र लाचार हुन्छे ।

यौन समस्या वा कमजोरी हुँदा पति वा प्रेमीलाई लिएर यौन चिकित्सककहाँ पुग्ने स्त्रीको सङ्ख्या मात्र होइन अचेल पत्नी वा प्रेमिकामा यौन चाहना कम भएको अथवा पूर्णतया अभाव भएको समस्या लिएर यौन चिकित्सककहाँ पुग्ने पुरुषको सङ्ख्या पनि बढ्दो छ ।

कुनै अन्य कमजोरी वा अन्य रोगले पनि अयौनिकता ल्याउँछ ?

विभिन्न शारीरिक र मानसिक अवस्था वा रोगले यौन चाहना वा क्षमतामा ह्रास आउन सक्छ । त्यसलाई घट्दो यौन चाहना -Decresaed libido_  भनिन्छ । स्त्रीमा योनीसोथ वा योनी सङ्कुचनका कारणले यस्तो अवस्था आउन सक्छ । पुरुषमा पनि यस्ता थुप्रै कारक अवस्था जिम्मेवार हुन्छन् तर ती कारणको निराकरणपछि उनीहरूमा सुषुप्त यौन चाहना फेरि जागेर आउँछ तर अयौनिक (ब्कभहगब)िहरूमा त्यस्तो हुँदैन । अरूले झट्ट हेर्दा उनीहरूको रूप, जिउडाल र यौनाङ्गको बनोट आकर्षक र लोभलाग्दो हुन सक्छ तर उनीहरूले अरूप्रति कुनै आकर्षण महसुस गर्न सक्दैनन् ।

कहिलेकाहीँ यो समस्याका बारेमा अध्ययनको अभाव भएका चिकित्सक तथा मनोविज्ञहरूले समेत यो मनोवैज्ञानिक रोग वा समस्याका कारणले भएको निष्कर्ष निकालेर उपचार गर्ने गरेको देखिन्छ ।

यो अवस्थाको गम्भीरता ?

व्यक्तिको आफ्नो अनुभूतिभन्दा उसका बारे कुनै पनि पर्यवेक्षकको धारणा ठूलो हुन सक्दैन । व्यक्तिको यौन चाहना वा यौनप्रति आकर्षणको अवस्था कम बेसी वा न्यून हुन सक्छ । यसको तुलनात्मक अध्ययन हुनु स्वाभाविक हो तर ऊ शतप्रतिशत अयौनिक हुन सक्दैन र मानिसको आनुवंशिक गुण अध्ययन गर्दा कुनै पनि ‘जिन’ यौनिकताको अभावमा जिम्मेवार भएको पाइएन भन्ने मान्यता हाल विभिन्न यौन वैज्ञानिकहरूद्वारा गरिएका अनुसन्धानका आधारमा व्यापक हुँदै गएको छ ।

सामान्य अवस्थामा अर्काे व्यक्ति वा यौन व्यवहारप्रति निरपेक्ष रहने व्यक्ति पनि विशिष्ट परिस्थितिमा रोमान्टिक हुन सक्छ भन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यौन मनोविज्ञहरूले व्यक्तिको यौनप्रतिको धारणा र आकर्षण निर्धारण गर्न विभिन्न किसिमका प्रश्नावली बनाउने गरेका छन् । यसमध्ये IDR–6 MAT  नामक स्वेच्छिक परीक्षण विधि सबैभन्दा उत्कृष्ट मानिन्छ । यति हुँदाहुँदै पनि त्यसको परिणाम नै अन्तिम सत्य होइन र मानिसको व्यक्तित्वका विभिन्न विशिष्ट कोणलाई सबै प्रश्नावलीले एकैनासले छुन सक्दैन भन्ने आरोप पनि लाग्ने गरेको छ ।

वर्तमानमा यौनविज्ञहरू समाजशास्त्रीहरूले प्रयोग गर्ने गरेको शब्द ‘अयौनिक’ भन्दा ‘अयौनिक व्यक्तित्व’ भन्नु बढी उपयुक्त हुने धारणामा विश्वास गर्छन् । उनीहरू यस्ता व्यक्तिको यौनिक अभिमुखीकरण र यौन व्यवहारमा मानसिक, शारीरिक र व्यावहारिक विधिबाट सापेक्षिक परिवर्तन ल्याउन सक्ने विषयमा आशावादी मात्र होइन विश्वस्त हुँदै गएका पनि छन् । अमेरिका लगायत अन्य देशका यौन समस्या र त्यसको निराकरणका लागि प्रतिबद्ध भएर अनुसन्धान गरिरहेका यौन चिकित्सकहरू त यो अवस्था कुनै पनि मानसिक कारणले भन्दा व्यावहारिक कारणले उत्पन्न हुने हँुदा यसलाई ‘न्यून सक्रिय यौनेच्छाजन्य विसङ्गति’ ( Hypoactive sexual desire disorder–HSDD) भन्न बढी रुचाउँछन् ।

मारलिन मनरो नामक विख्यात अमेरिकी अभिनेत्री तथा निकोलस टेस्ला नामक वैज्ञानिकलगायत स्वनामधन्य अन्य व्यक्तिमा यो अवस्था भएको तथ्य बाहिरिएको छ ।

निराकरणको उपाय छ ?

विगतमा मानसिक र व्यावहारिक साधना एक मात्र विकल्प मानिएको यो अवस्थाका स्त्रीका लागि ‘फ्लिबान्सेरिन’ नामक प्रभावकारी औषधिको प्रयोगले केही वर्षयता चामत्कारिक परिणाम देखिएको छ । त्यसैले यो औषधिलाई फिमेल भायग्रा पनि भन्ने गरिन्छ । यसबाट ‘अयौनिक व्यक्तित्व’का लागि मानसिक विसङ्गति मात्र नभएर लुकेको शारीरिक रुग्णता पनि जिम्मेवार हुन सक्ने तथा औषधिको प्रयोगले त्यो रुग्णता हटेर यौनिक रूपमा व्यक्ति स्वभाविक लयमा फर्किन सक्ने तथ्य उजागर भएको छ । यसरी ‘अयौनिक’बाट ‘अयौनिक व्यक्तित्व’ हुँदै यो समस्याको नाम न्यून सक्रिय यौनेच्छाजन्य विसङ्गति बढी सान्दर्भिक हुँदै गएको छ ।