• २४ असार २०८१, सोमबार

मूल्य समायोजन नगरी उखु क्रसिङको तयारी

blog

रवीन्द्र उप्रेती

बर्दिबास, पुस ७ गते । महोत्तरीको गौशाला नगरपालिका–१ मा रहेको एभरेस्ट चिनी मिलले उखु क्रसिङको तयारी गरेको छ । यो चिनी मिलले पुस महिनाको पहिलो साताभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी थालेको हो । 

मिलका महाप्रबन्धक कृष्णचन्द्र दासले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गरी करिब दुई लाख २५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य रहेको बताउनुभयो । 

कृषक भने उखुको मूल्यलाई लिएर असन्तुष्ट देखिएका छन् । मिल सञ्चालनको तयारीलाई एकलौटी निर्णय भन्दै किसानदेखि उखु उत्पादक कृषक सङ्घसमेत असन्तुष्ट देखिएका हुन् । नयाँ मूल्य नतोकी कारखाना सञ्चालन गरे आफूहरूले सहयोग नगर्ने सङ्घले स्पष्ट पारेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार काठमाडौँमा बैठक राखी चालू सिजनका लागि पुरानै मूल्यमा इन्धनबापत प्रतिक्विन्टल १५ रुपियाँ मात्र थप गर्ने गरी गरेको प्रस्तावलाई उखु कृषकले अव्यावहारिक, किसान मारा र निर्मम भएको प्रतिक्रिया दिएका छन् । मन्त्रालयले 

‘उद्योगपतिसँगको मिलेमतो’मा यस्तो प्रस्ताव गरेको उखु कृषकको आरोप छ । 

मन्त्रालयको बैठकमा उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले औपचारिक सहभागिता नजनाएका कारण पनि १५ रुपियाँको प्रस्ताव ‘मनोगत र एकलौटी’ भएको उखु कृषकको प्रतिक्रिया छ । उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहका अनुसार उखु उत्पादनको लागतलाई समेत ध्यानमा नराखी पुरानै मूल्यमा उखु खरिदको तयारी गरिएकाले असन्तुष्टि बढेको हो । 

गत वर्ष उद्योगले उखुको प्रतिक्विन्टल ५२० र सरकारले अनुदानबापत ७० गरी ५९० रुपियाँ कायम गरेको थियो तर मल, बीउ, मजदुरी महँगो भएको र इन्धनको मूल्य आकाशिएसँगै उखु उत्पादन, सिँचाइ र ढुवानीको लागतसमेत बढेको हुँदा किसानले प्रतिक्विन्टल सात सय रुपियाँको माग गर्दै आएका छन् । 

गत असारतिर जिल्ला अनुगमनमा आएको संसदीय टोली र लगत्तै आएको कृषि मन्त्रालयको अर्को टोलीसँग पनि दररेट निर्धारणबारे उखु उत्पादक कृषक सङ्घबीच औपचारिक छलफल भएको अध्यक्ष कुशवाहले स्मरण गराउनुभयो ।

“दुवै टोलीसँग भएको छुट्टाछुट्टै छलफलमा उखु उत्पादनका लागि आवश्यक मल, मजदुर, इन्धन, सिँचाइको लागत मूल्य जोडेर प्रतिक्विन्टल सात सय रुपियाँ निर्धारण हुनुपर्ने प्रस्ताव गरिएको थियो । यसमा दुवै टोली सकारत्मक देखिएका थिए तर क्विन्टलमा १५ रुपियाँ मात्र बढाउने मन्त्रालयको प्रस्ताव आपत्तिजनक मात्र छैन, यसले उखु कृषकको अपमानसमेत गरेको हाम्रो ठहर छ,” कुशवाहले भन्नुभयो ।

महाप्रबन्धक दासले नयाँ मूल्य घोषणा भएपछि सोहीअनुसार भुक्तानी गर्ने सर्तमा चलान वितरण सुरु गरेको जानकारी दिनुभयो । उखु कृषक तथा तिनका सङ्घसंस्थाले सहयोग नगरे उत्पादन र आपूर्ति नै प्रभावित हुन सक्ने दास स्वीकार्नुहुन्छ ।

एभरेस्ट चिनी मिलको सिजनमा ६० लाख क्विन्टल उखु क्रसिङ गरी करिब साढे पाँच लाख क्विन्टल चिनी उत्पादन गर्ने क्षमता छ तर किसानले लागतअनुसारको मूल्य नपाउँदा यसको असर उखु खेतीमा पर्दै आएको छ । पाँच वर्षअघिसम्म ५८ लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको एभरेस्ट चिनी मिलले गत वर्ष १९ लाख ९० हजार ८६५ क्विन्टल मात्र उखु क्रसिङ गरी एक लाख ८० हजार १५९ क्विन्टल चिनी उत्पादन गरेको थियो । 

चालू सिजनमा कारखानाले २५ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य लिए पनि यसपालिको क्रसिङ १८ लाख क्विन्टलमा झर्ने उखु कृषकको अनुमान छ ।