• ८ पुस २०८१, सोमबार

मधेश प्रदेशमा कसैको छैन बहुमत

blog

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, पुस ५ गते । मधेश प्रदेश सभामा यस पटक १० वटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। कुनै पनि राजनीतिक दलले एकल बहुमत नल्याएका कारण यहाँ दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने छ तर सत्तापक्ष र प्रतिपक्षीय गठबन्धन बनाएर चुनावमा होमिएका दलसँग पनि बहुमत नभएपछि मधेश प्रदेश सरकार कसको नेतृत्वमा बन्ला अझै स्पष्ट भइसकेको छैन। 

मधेश प्रदेश सभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सिट रहेकोमा सरकार बनाउन कम्तिमा ५४ सिटको बहुमत आवश्यक छ। कुनै पनि राजनीतिक दलले बहुमत सिट सङ्ख्या प्राप्त नगरेको कारण दुई वा दुईभन्दा बढी दलको संयुक्त सरकार बन्नुपर्ने छ। 

अङ्क गणितको आधारमा सत्ता गठबन्धनभित्रका दललाई जोड्दा पनि सरकार बनाउन बहुमत पुगेको छैन। सत्तागठ बन्धनसँग ४६ सिट सङ्ख्या मात्र पुगेको छ। सरकार बनाउन ५४ सिट आवश्यक पर्ने छ। 

अर्कोतर्फ नेकपा (एमाले)–जसपा गठबन्धनको पनि बहुमत पुग्दैन। एमाले र जसपाको ३९ सिटमात्र छ। यस गठबन्धनलाई पनि अन्य दलको सहारा लिनुपर्ने देखिन्छ। एमालेलाई सत्ता गठबन्धनभित्रका दल र सत्ता गठबन्धन बाहिरको दलको समर्थन सरकार बनाउन चाहिन्छ।

प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकसहित प्रदेश सभामा एमाले २३, कांग्रेस २२, जनता समाजवादी पार्टी (जसपा) १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ९, नेकपा (माओवादी केन्द्र) ८, नेकपा (एकीकृत समाजवादी) ७, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक/एक सिट जितेको छ। प्रत्यक्षमा छ जना सदस्य स्वतन्त्र उम्मेदवार पनि जितेको छ। जितेको सिटको आधारमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ। गठबन्धनले जितेको सिटको आधारमा सत्ता गठबन्धन पहिलो र बलियो अवस्थामा रहेको छ।

प्रक्रिया अघि बढ्यो 

निर्वाचन आयोगले मधेश प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहित प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै प्रदेश सरकार बनाउने प्रक्रिया अघि बढेको छ। मधेश प्रदेशमा सरकार बनाउन अनौपचारिक आवश्यक छलफल पनि प्रारम्भ भएको छ तर सरकार कुन दलको कसको नेतृत्वमा बन्नेबारे नागरिकमा अन्योलता रहेको छ। प्रदेश सरकार बनाउन कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमत प्राप्त नभएको कारण नागरिकमा यस्तो अन्योलता रहेको पाइन्छ। 

प्रदेश सरकार गठन आह्वान पूर्वप्रदेश प्रमुख कार्यालयले गर्नुपर्ने आवश्यक प्रक्रिया थालिसकेको छ। प्रदेश प्रमुख कार्यालयले निर्वाचित प्रदेश सभा सदस्यलाई शपथग्रहणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।  कार्यालयले शपथग्रहणका लागि निर्वाचित प्रदेश सभा सदस्यमध्ये ज्येष्ठ सदस्यको नाम प्राप्त भइसकेको जनाएको छ। प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराइसकेपछि ज्येष्ठ सदस्यबाट अन्य सदस्यलाई शपथ गराउने प्रदेश प्रमुख कार्यालयका नायब सुब्बा वीरेन्द्र महतोले जानकारी दिनुभयो। 

प्रदेश सभा सदस्यमध्ये प्रत्यक्षमा ७१ वर्ष उमेरका नेकपा(एस)बाट गोविन्दबहादुर न्यौपाने, स्वतन्त्रबाट ७० वर्षका सारदाशङ्करप्रसाद कलवार, नेकपा (एमाले)बाट समानुपातिकतर्फ ६९ वर्षका पलटीदेवी महरा र प्रत्यक्षमा जनमत पार्टीबाट ६८ वर्षका सकिल मियाँ हुनुहुन्छ।

दलहरू आन्तरिक तयारीमा

सरकार बनाउन र सरकारको नेतृत्वअघि राजनीतिक दलले संसदीय दलको नेता चुनिनु पर्छ। यसको गृहकार्यमा दलहरू आन्तरिक तयारीमा जुटिसकेका छन्। नेपाली कांग्रेसले मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकको तयारी गरिरहेको नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो।  

नेकपा (एमाले) मधेश प्रदेशका सहइन्चार्ज सुमनराज प्याकुरेलले आवश्यक छलफल कुराकानी भइरहेको बताउनुभयो। प्रदेश सरकार गठन सङ्घीय सरकार गठनमा भर परेको उहाँले भन्नुभयो, सङ्घमा जसरी सरकार बन्छ, प्रदेशमा पनि त्यसरी नै बन्छ।