• ११ मंसिर २०८१, मङ्गलबार

उपत्यकामा खोजिँदै क्षयरोगका बिरामी

blog

काठमाडौं, पुस १ गते । काठमाडौं उपत्यकामा लुकेका क्षयरोगीलाई खोज्न सुरु गरिएको छ । जापान क्षयरोग निवारण संस्था र जापान नेपाल क्षयरोग अनुसन्धान संस्थाले संयुक्त रुपमा उपत्यकामा क्षयरोगका बिरामीलाई खोज्न सुरु गरेको हो ।

संस्थाले अहिलेसम्म उपत्यकाका १७ स्थानमा क्षयरोग खोज्नका लागि ‘सक्रिय क्षयरोग खोजतलास’को कार्यक्रम सुरु गरेको छ । संस्थाका प्रमुख रामशरण गोपालीले खोजतलास गर्दा १.१ प्रतिशतमा क्षयरोगका बिरामी भेटिएको जानकारी दिनुभयो । उहाँका अनुसार चार हजार २७३ जनामा क्षयरोग परीक्षण गर्दा ४५ जनामा बिरामी भेटिएको छ ।

उहाँले उपत्यकामा रहेका शहरी गरिबी, स्वास्थ्य सेवाको पहुँच नभएका, एउटै कोठामा बस्ने जोखिम समूह, वृद्धाश्रम, होस्टेल, कलकारखानामा काम गर्ने मजदुरलाई लक्षित गरी खोजतलास कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । संस्थाले क्षयरोगका लक्षण नभएका व्यक्तिमा क्षयरोगको परीक्षण गरिरहेको छ ।

आज (शुक्रबार)देखि काठमाडौं महानगरको वडा नं. ८ को तिलगंगास्थित शान्ति सेवागृहमा क्षयरोगको परीक्षण गरी सुरु गरिएको जानकारी उहाँले दिनुभयो । गृहमा बसेका बालबालिका, वृद्धालाई लक्षित गरी परीक्षण सुरु गरिएको हो । उहाँका अनुसार २५० जनाको निःशुल्क परीक्षण गरी उपचार गरिनेछ ।

छातीको एक्सरे गरेपछि क्षयरोगको शङ्का लागेपछि ‘टीवी ल्याम्प’ र ‘जीन एक्सर्ट’विधिबाट खकार परीक्षण गरिन्छ । क्षयरोगका बिरामी भेटिए स्वास्थ्य संस्थासम्म औषधि सेवन गराउने गर्दछ । 

संस्थाका प्रमुख गोपालीले जोखिममा रहेका ठाउँका मानिसमा क्षयरोग पत्ता लगायो भने क्षयरोगलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । नेपालले सन् २०३५ सम्म क्षयरोगलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ । सरकारले क्षयरोगका  बिरामीलाई निःशुल्क उपचार गर्दै आइरहेको छ ।