• २० वैशाख २०८१, बिहिबार

महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्छ : प्रमुख साह

blog

काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख बालेन्द्र साह । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, मङ्सिर २९ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनः जागरण गर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनः जागरण गर्न लागेको बताउनुभएको हो ।

प्रमुख साहले भन्नुभयो, ‘‘काठमाडौं महानगरपालिकाले यो सात दिन सप्ताहव्यापी काठमाडौं महानगरपालिकाको उत्सव मनाउँदै गर्दाखेरि विभिन्न कुराहरूलाई एउटा सिम्बोलको रूपमा देखाउन चाहेको छ । उदाहरणको रूपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनः जागरण गर्नुपर्छ भन्ने कुरा अस्ति पशुपतिमा गर्दै जाँदाखेरी, उपत्यकाभरि र काठमाडौं महानगरपालिकाभरि विभिन्न स्थानहरूमा डबलीहरू रहेका छन् ।’’

उहाँले उपत्यका भित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताउनु भयो । काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरूलाई पुनः जागृत गराउनुपर्नेमा जोड दिनुहुँदै प्रमुख साहले संस्कृतिहरूलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभयो । मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्ताहरूलाई पनि सिकाउँदै जानुपर्ने उहाँको भनाइ  ।

‘‘सानो सानो हाम्रो जनचेतनामूलक, रमाइलोका लागि गरिने पुरानो सभ्यतामा रहेको चिजलाई पुनः जागरण गर्नुपर्छ भन्ने कुराहरू हामीले गर्‍यौँ। हाम्रो सभ्यता, सम्पदा, पुरानो मौलिक आर्किटेक्चर थियो, काठमाडौं महानगरपालिका र उपत्यकाको ।,’’ प्रमुख साहले थप्दै भन्नुभयो, ‘‘त्यसलाई पुनः जागरण कसरी गर्ने ? हाम्रो संस्कृतिहरूलाई कसरी पुनः जागरण गर्ने ? कसरी जोगाइराख्ने ? कसरी पुस्तान्तरण गर्ने ? हाम्रो नयाँ पुस्ताहरूलाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने ? हाम्रो पुरानो बाजाहरूलाई कसरी अभिलेखीकरण गरेर त्यसलाई प्रदर्शनको रूपमा, प्रतिस्पर्धाको रूपमा, प्रतियोगिताको रूपमा हामीले हाम्रो नयाँ पुस्ताहरूलाई कसरी सिकाउँदै जाने भन्ने कुराहरू पनि राख्यौँ ।’’

प्रमुख साहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरू र सबै तहको सरकारहरूसँग सहकार्य गर्दै अगाडि बढेको जानकारी दिनुहुँदै उहाँले काठमाडौं महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस

काठमाडौं महानगर दिवस (फोटो फिचर)