• १३ वैशाख २०८१, बिहिबार

लिफ्टमार्फत घर–घरमा धारा, उपभोक्ता खुसी

blog

बानपा–४ उपल्लोपाखाथरमा निर्माण गरिएको खानेपानी धारा । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, मङ्सिर २१ गते । बागलुङ नगरपालिका –३ र ४ उपल्लो पाखाथर बस्तीको घर–घरमा खानेपानी सुविधा पुगेपछि स्थानीय खुसी भएका छन् । खानेपानी अभाव भोग्दैआएका पाखाथरवासीको सुविधालाई लक्षित गरी नगरपालिकाले लिफ्ट प्रविधिको प्रयोग गरी  खानेपानी सुविधा विस्तार गरेको हो ।

उपल्लो पाखाथरका ७७ घरमा ‘एक घर, एक धारा’ अभियान अन्तर्गत धारा निर्माण गरिएको छ । कुवा र मुलको पानी प्रयोग गर्दैआएकाहरुका लागि स्थानीय आयोजनाले पूर्णता पाएलगतै घरआँगनमै पानी थाप्न पाएका छन् ।    

घर आँगनमै पानी आएपछि दैनिक जीवन सहज भएको स्थानीय मुरारीदत्त शर्माले बताउनुभयो । यसअघि खानेपानीको जोहो गर्न सामुदायिक धारा र कुवामा जानुपर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुनेगरेको भए पनि अहिले सहज भएको शर्माको भनाइ छ । 

बागलुङ नगरपालिकाको २६ लाख ४० हजार र स्थानीय उपभोक्ताहरूको १५ लाख रुपियाँको लागतमा आयोजना सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । खानेपानीको अभाव झेल्दै आएका स्थानीयवासीले उपल्लो पाँखाथर टोल विकास संस्थामा आबद्ध भएका नयाँ घरले ४१ हजार र पुराना घरले २६ हजार रुपियाँ गरी १५ लाख रुपियाँ उपभोक्ता स्तरबाट सङ्कलन गरेका थिए । 

स्थानीयहरूले प्रयोग गर्दैआएको पाँच वडा मुलको पानीलाई केन्द्रित गरी नगरपालिकाको वडा– ३ र ४ उपल्लो पाँखाथरका ७७ घर र एक सामुदायिक विद्यालयमा लिफ्टमार्फत खानेपानी लगिएको छ । पच्चीस एम.एम.को पाइपमा जुरेढुङ्गाको मुहानबाट सोझै सङ्कलन गरी पानी ट्याङ्कीमा आउने व्यवस्था गरिएको छ ।  

पँधेराघर, रिठाबोटसहितका कुवाको पानीलाई ४० एफएमको पाइपबाट एक सय मिटरमाथि खत्रीवारिमा लिफ्ट प्रविधिमार्फत लगेर घरमा वितरण गरिएको छ । खानेपानी उपभोग गरेबापत प्रत्येक घरले विधुत महसुल र मर्मत सम्भारका लागि मासिक दुई सय रुपियाँ उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान छ । लिफ्टसङ खानेपानी आयोजनामा विधुत महसुलमा सहयोग गर्ने नगर उपप्रमुख राजु खडकाले बताउनुभयो ।