• ७ वैशाख २०८१, शुक्रबार

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर २१ गते । बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्को खसेर बुधवार एक जनाको मृत्यु भएको छ । भवन निर्माणका लागि जग खन्ने क्रममा बिहान ११ बजे नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी वर्ष ४५ का कृष्ण बरुवालको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

अन्नपूर्ण गाउँपालिका –६ घार निवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन लाग्नुभएको थियो । डोजरले खनेर जग्गा सम्म्याउने क्रममा माटोको ढिस्को खसेको प्रहरीले बताएको छ । पुरिएको एक घण्टापछि प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उहाँको उद्धार गरी बेनी अस्पताल लगिएको थियो । 

अस्पताल पुर्‍याइएलगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।