• १७ असार २०८१, सोमबार

नदीजन्य पदार्थको अवैध उत्खनन, ठेक्का नलाग्दा राजस्व गुम्दै

blog

देउखुरी समाचारदाता

देउखुरी, मङ्सिर २१ गते । दाङ देउखुरीमा नदीजन्य पदार्थको अवैध उत्खनन बढ्न थालेको छ। स्थानीय सरकारले समयमै ठेक्का लगाई उत्खननको अनुमति नदिएकाले अवैध उत्खनन बढ्न थालेको हो। भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ नखोल्दा सेवाग्राही मर्कामा परिरहेका छन्। यता विचौलियाले अवैध उत्खनन गर्दा राजस्व गुमेको छ। 

रातको समयमा अत्यधिक अवैध उत्खनन हुने गरेको उपभोक्ताको गुनासो छ। लमही नगरपालिका–६, देउपुरका कृष्ण चौधरीले रातभर ट्याक्टर नदीको बाटो हुँदै बालुवा बोकेर हिँड्ने गरेको बताउनुभयो। 

“रातको समयमा खोलामा ट्याक्टर जाने भनेको अवैध उत्खनन नै हो”, उहाँले भन्नुभयो, “राप्ती नदी र अर्जुनखोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गरेर निकासी हुने गरेको छ।” लमही नगरपालिका–५, कोलहीका राजकुमारी चौधरी राति ढुङ्गा, गिट्टी, बालुवा चोरी हुँदा पनि सरोकारवाला निकायले ध्यान नदिएको गुनासो गर्नुहुन्छ। नदीजन्य वस्तुहरू ढुङ्गा, गिट्टी र बालुवाको ठेक्काबाट स्थानीय तहलाई लाखौँ रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ। लमही नगरपालिका–८ स्थित कालिपुरुवा घाटमा रातिको समयमा नदीजन्य पदार्थ उत्खननका लागि लाइन नै लाग्ने गरेको छ। अधिकांश ट्याक्टरले रातभरमा बालुवा बोकेर पु¥याउँछन्। कतिपयले नदीको किनारमा थुपारेर राख्छन्। यसरी थुपारेर राखेको बालुवा दिउँसो बिक्री गर्छन्। 

गढवा गाउँपालिका–२ र ३ स्थित राप्ती नदीबाट अवैध रूपमा ढुङ्गा सङ्कलन गर्ने र रातिको समयमा चोरी गरेर बिक्री गर्ने कार्य भइरहेको छ। गढवा गाउँपालिकाले पटक पटक उत्खनन गरी जम्मा गरेको ढुङ्गा नियन्त्रणमा लिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले अघिल्ले पटक ठेक्का लिएका केही व्यवसायी सो कार्यमा सक्रिय हुने गरेको बताउनुभयो।