• १२ मंसिर २०८१, बुधबार

छाडा चौपायाबाट सास्ती

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, मङ्सिर १७ गते । पश्चिम नेपालकै सबैभन्दा ठूलो सहर नेपालगञ्जका विभिन्न प्रमुख सडक र चोकमा घोडा, खच्चर र गाईबस्तुलगायत छाडा चौपायाको बिगबिगी बढेको छ। सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, खच्चड र गाईले कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमन समस्या भइरहेको छ। 

केही दिनपहिले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट आफैँ सडकमा खटिएर छाडा चौपायालाई बजार क्षेत्रबाट लखेटे पनि फेरि जताततै छाडा घोडा, खच्चड र गाईगोरु देखिन थालेका छन्। उपमहानगरले छाडा चौपाया छोड्नेलाई जरिवाना तिराउने निर्णय गरे पनि सो कार्यान्वयन नहुँदा समस्या समाधान हुन नसकेको स्थानीयको गुनासो छ। सो समस्याप्रति उपमहानगरपालिकाले गम्भीर भएर ध्यान नदिएकै कारण पटक–पटक छाडा चौपायाको समस्या दोहोरिएको र सडकमा छाडा चौपाया बढेको गुनासो नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले गर्नुभयो। 

उहाँका अनुसार त्रिभुवन चोक, धम्बोझी चोक, बीपी चोक, पुष्पलाल चोक र गणेशमान चोकलगायत सुर्खेत रोड र सदरलाइनमा सबैभन्दा बढी छाडा घोडा, खच्चड र गाईगोरु भेटिने गरेका छन्। ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक–पटक अवरोधसमेत हुने गरेको सुर्खेत रोडका व्यवसायी सब्बीर सिद्दिकीको दुखेसो छ। घोडा, खच्चड र गाईजस्ता चौपाया पाल्नेले अटेरी गरेकै कारण नगरका अधिकांश सडकमा उनीहरूको बिगबिगी भएर दिसापिसाबबाट सडक दुर्गन्ध र फोहोर बढ्ने तथा दुर्घटना निम्तिने गरेको अधिकांश नागरिकको ठहर छ। 

नेपालगञ्ज क्षेत्रका छाडा चौपाया राख्नका लागि कान्जीहाउस भए पनि यसको उचित प्रयोग हुन सकेको छैन। छाडा पशुचौपाया व्यवस्थापनका लागि ठूलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने माग गरिएको छ। त्यसतर्फ समेत सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ।