• ८ वैशाख २०८१, शनिबार

प्रदेश सभातर्फ नेकपा एस १४ स्थानमा विजयी

blog

काठमाडौं, मङ्सिर १५ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेशसभातर्फ १४ स्थानमा विजयी हासिल गरेको छ ।

निर्वाचन आयोगले नेकपा (एस) ले प्रतिनिधि सभातर्फ १० र प्रदेश सभातर्फ १४ स्थानमा विजयी भएको जनाएको हो । आयोगका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नं. १० को (ख) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रमा आलेमगर पाँच हजार ८१८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार रामशरण आलेमगरले पाँच हजार १८८ मत प्राप्त गर्नुभएको छ । विजयी रमा आलेमगर पराजित रामशरण आलेमगरकाे भतिजी हुनुहुन्छ । 

यसैगरी, भक्तपुर निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (ख)मा नेकपा (एस) का उम्मेदवार राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले आठ हजार ३४१ मत प्राप्त गरी विजयी हुनुभएको हो । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार चन्दन कृष्ण श्रेष्ठले आठ हजार ३१ मत ल्याउनुभएको छ ।

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नं. ४ को प्रदेशसभा (क) मा नेकपा (एस) का उम्मेदवार दीर्घबहादुर सोडारी विजयी हुनुभएको छ । उहाँले १३ हजार ५११ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भिमबहादुर देउवाले नौ हजार ४४५ मत ल्याउनुभएको छ ।

सिराहा निर्वाचन क्षेत्र नं. ३ को (ख) मा नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार प्रमोदकुमार यादव नौ हजार ९७६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार आठ हजार १४ मत प्राप्त गर्नुभएको छ ।

सप्तरी क्षेत्र ४ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गोविन्दबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । न्यौपानेले नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण चौधरी थारुभन्दा पाँच हजार ४२१ बढी मत ल्याएर निर्वाचित हुनुभयो । न्यौपानेले ११ हजार ४२९ मत ल्याउनुभएको छ भने थारुले पाँच हजार आठ मत प्राप्त गर्नुभयो ।

यसैगरी, काठमाडौं ७ को (क) मा वसन्तप्रसाद मानन्धर, सप्तरी ४ को (क)मा गोविन्दबहादुर न्यौपाने, इलाम १ को (क)मा खिनु लङ्वा (लिम्बु), भोजपुर १ को (क) मा राजेन्द्रकुमार राई, चितवन १ को (ख)मा कृष्ण खनाल, काभ्रेपलान्चोक २ को (क)मा लक्ष्मण लम्साल, रौतहट २ (ख)मा कनिश पटेल, कञ्चनपुर ३ को (क)मा प्रकाशबहादुर रावल, पाँचथर १ को (क)मा कमलप्रसाद जवेगु, सर्लाही १ को (ख)मा बेची लुङ्गेली विजयी हुनुभएको छ ।