• १५ चैत २०८०, बिहिबार

मकवानपुर १ मा राप्रपाका सिंह विजयी

blog

मकवानपुरको प्रतिनिधिसभा विजयी दीपकबहादुर सिंह ।

राममणि दाहाल
हेटौँडा, मङ्सिर ८ गते ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह विजयी हुनुभएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्नुहुँदै सिंह विजयी बन्नुभएको हो । सिंहले २७ हजार ८१६ मत प्राप्त गर्दा उपाध्यालले २५ हजार ४३४ मत पाउनुभएको छ ।

यस्तै, नेकपा एमालेको चुनाव चिह्नमा उम्मेदवार बन्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गर्नुभएको थियो ।

विगतमा थापाको कार्यकर्ता रहेका सिंहले अग्रता लिन थालेपछि झण्डै २० हजार मतगणना हुन बाँकी हुँदै थापाले हार स्वीकार गर्नुभएको थियो ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बन्नुभएका सिंह तेस्राे बन्नुभएको थियो ।
९१ हजार १०९ मत खसेकोमा चार हजार ५४ मत बदर भएको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि सार्वजनिक मत परिणामअनुसार मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट एमालेका महेशकुमार बर्तौला विजयी बन्नुभएको थियो ।

यस्तै, प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र नं. १ को (क) मा उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर पुलामी, प्रतिनिधि सभा क्षेत्र नं. २ को (क) बाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रकै कुमारी मुक्तान, कांग्रेसबाट उम्मेदवार बन्नुभएका इन्द्रबहादुर बानियाँ प्रतिनिधि सभा क्षेत्र नं. २ को (ख) बाट र नेकपा एमालेको एकालाल श्रेष्ठ प्रतिनिधि सभा क्षेत्र नं. १ को (ख) बाट निर्वाचित हुनुभएको थियो ।