• ७ वैशाख २०८१, शुक्रबार

गोरखाका चार वटै प्रदेशसभा गठबन्धनका उम्मेदवार विजयी

blog

नरेन्द्र ढकाल
गोरखा, मङ्सिर ८ गते । 
गोरखाका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा बाम गठबन्धन विजयी भएको छ । क्षेत्र नं. १ को प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल विजयी हुनुभएको छ ।

१५ हजार ४५७ मत प्राप्त गर्नु भएका उहाँले नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्रबहादुर थापालाई पराजित गर्नुभएको हो । निकटतम प्रतिद्वन्द्वी थापाले नौ हजार ८२२ मत प्राप्त गर्नुभएको  ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदिप ढकालले एक हजार ७८०, स्वतन्त्र उम्मेदवार रामशरण आर्चायले एक हजार २०२, मङ्गोल नेश्नल आर्गनाइजेसनका गङ्गाबहादुर रानाले ८४७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका हरिराम अर्यालले १८३ र नेश्रलिष्ट पिपल्स पार्टीका विष्णुबहादुर कुमालले ५३ मत ल्याउनु भएको छ । उक्त क्षेत्रमा जम्मा कुल ३० हजार ७४६ मत खसेको थियो । त्यो मध्ये एक हजार २०६ मत बदर भएको थियो ।

प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार नन्दप्रसाद न्यौपाने विजयी हुनु भएको छ । नेपाली कांग्रेस जिल्लाका सभापति समेत रहनुभएका उहाँले नेकपा (एमाले) का मोहनप्रसाद भट्टराईलाई आठ हजार ७२८ मत अन्तरले हराउँदै विजयी हुनुभएको हो ।

उक्त क्षेत्रमा २९ हजार ६८६ मत खसेको थियो । न्यौपानेले १६ हजार २६५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी भट्टराईको सात हजार ५३३ मत आएको छ । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार डाकबहादुर पराजुलीले तीन हजार ६९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोम अधिकारीले ५३४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सरिता देवकोटाले ८४, मङ्गोल नेश्नल आर्गनाइजेसनका राम लामाले २४१ र नेश्रलिष्ट पिपल्स पार्टीका उम्मेदवार रामचन्द्र कुमालले १३६ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, गोरखा क्षेत्र नं.२ को प्रदेशसभा (क) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा विजयी हुनु भएको छ । देवकोटाले एमालेका उम्मेदवार राजु रानालाई पराजित गर्नु भएको हो । देवकोटाले १२ हजार ४११ मत प्राप्त गर्नुभएका छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रानाको पाँच हजार ४११ मत प्राप्त गर्नुभएको छ ।

राप्रपाका राजेन्द्र शाहले तीन हजार ४५६, हाम्रो पार्टी नेपालका सरोज गिरीले दुई हजार ४०६, स्वतन्त्र उम्मेदवार बिलबहादुर तामाङ (लामा) एक हजार २१, मङ्गोल नेश्नल अग्रनाइजेसनकी बिपिका बराम गुरुङले ३०४, राप्रपा नेपालका सुबोध बस्नेतले २५८ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा २६ हजार ४७७ मत खसेको थियो ।

गोरखा क्षेत्र नं.२ को (ख)मा फराकिलो मतान्तरसहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे निर्वाचित हुनुभएको छ । २७ हजार ३२७ मत खसेकोमा पाण्डे एक्लैले १६ हजार ८८२ मत ल्याउनु भएको छ । उहाँका निकटम् प्रतिद्वन्द्वी एमालेका वसन्त गुरुङले पाँच हजार ३६७ मत ल्याउनु भएको छ । पाण्डेले गुरुङलाई ११ हजार ५२२ मतान्तरले पराजित गर्नु भएको हो । मङ्गोल नेश्नल अग्रनाइजेसनका रामबहादुर घलेले एक हजार ४७९, स्वतन्त्र उम्मेदवार हरि पोखरेल एक हजार ३६६, राप्रपाका ठाकुरप्रसाद लामिछानेले ८६८, राप्रपा नेपालका सफिदिन मियाँले १७७ मत ल्याउनु भएको छ ।

अहिले प्रदेश सभामा प्रत्यक्ष तर्फको मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् । तर, समानुपातिक तर्फको मतगणना जारी रहेको र उक्त बाकसमा पनि प्रत्यक्ष तर्फको केही मतपत्र भेटिएकाले अन्तिम परिणाम सार्वजनिक भएको छैन । समानुपातिकतर्फको मत गणना सकिएपछि मात्र विजयी घोषणा गर्ने बताइएको छ ।