राममणि दाहाल
हेटौँडा, मङ्सिर ७ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार भएको निर्वाचनबाट मकवानपुरको निर्वाचन क्षेत्र नं. १ को (ख) को प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का एकालाल श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ को (ख) मा श्रेष्ठले सत्ता गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतान्तरसहित पराजित गर्नुभयो ।
श्रेष्ठले १४ हजार २२५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका पराजुलीले १३ हजार ३५६ मत प्राप्त गर्नुभएको थियो । पराजुली २०७४ को स्थानीय तह निर्वाचनमा समेत हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा झिनो मतले पराजित बन्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गुञ्जनबहादुर न्यौपानेले १२ हजार ५७७ मत पाउनुभएको छ । प्रदेश सभा सदस्यमा निर्वाचित श्रेष्ठ एमाले मकवानपुरको अध्यक्षसमेत हुनुहुन्छ । ४५ हजार ८० मत खसेकोमा एक हजार ५०६ मत बदर भएको थियो ।
यसअघि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल निर्वाचित यस क्षेत्रमा श्रेष्ठ विजयी बनेर एमालेको विरासत जोगाउन सफल हुनुभयो । उहाँले एमाले नेतृत्वको प्रदेश सरकारले सुरु गरेका प्रदेश गौरवका योजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।