• १५ वैशाख २०८१, शनिबार

काठमाडौं ६ मा रास्वपाका शिशिर विजयी, सर्वेन्द्र पाँच हजार २९३ मतले पराजित

blog

काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेर अगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार २०४ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार ९११ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले आठ हजार ८०९ मत प्राप्त गर्नुभएको खनालले बताउनुभयो ।

निर्वाचित खनाल टिच फर नेपालका संस्थापक हुनुहुन्छ । यस्तै, सर्वेन्द्र खनाल पूर्वप्रहरी महानिरीक्षक र प्रधान पूर्वरक्षामन्त्री हुनुहुन्छ ।

काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

काठमाडौंको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३८ हजार ९१० मत खसेको थियो । यस्तै, एक हजार ५३२ मत बदर भएको छ ।