• ६ कात्तिक २०८१, मङ्गलबार

सिन्धुली-२ को प्रदेशसभा (क) र (ख)मा गठबन्धनका उम्मेदवार विजयी

blog

सिन्धुलीको निर्वाचन क्षेत्र नं २ प्रदेससभा (क) का छेत्रवहादुर वम्जन र (ख) का विजयी गंगानारायण श्रेष्ठ । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, मङ्सिर ७ गते । सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उमेदवार विजयी बन्नुभएको छ ।

गठबन्धनबाट प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उमेदवार छेत्रबहादुर बम्जनले १६ हजार ८३५ मत र प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठले १३ हजार एक मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार प्रदेशसभा (क) मा निर्वाचित बम्जनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार विनोदकुमार खड्कालाई पाँच हजार १५४ फराकिलो मतको अन्तरले पराजित गर्नुभएको छ । एमालेका खड्काले ११ हजार ६८१ प्राप्त गर्नुभएको छ ।

राप्रपाका राजेशविक्रम बस्नेतले एक हजार ८०८ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । मजदुर किसान पार्टीका सङ्गीता दुवालले १३५ र मङ्गोल नेशनल अर्गनाइजेशनका वोजनकुमार बलले २१६ मत प्राप्त गर्नुभएको छ ।

पराजित खड्का २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । बम्जन २०७४ कोे निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेससभा (ख) मा माओवादी केन्द्रका बुद्धिमान माझीसँग पराजित हुनुभएको थियो ।

त्यस्तै, प्रदेशसभा (ख) मा निर्वचित श्रेष्ठले निकटतम  प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार रामकुमार पौडेललाई तीन हजार २१२ मतको अन्तरले पराजित गर्नुभएको छ । एमालेका पौडेलले नौ हजार ७८९ मत प्राप्त गर्नुभएको छ । राप्रपाका टलकबहादुर कार्कीले १७७ मत, मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले ३१ मत, मङ्गोल नेशनल अर्गनाइजेशनका तुलसी राईले २५१ मत र जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । 

डा. बाबुराम भट्टराको समाजवादी पार्टीका उपाध्यक्ष रहेका प्रदेशसभा २ बाट निर्वाचित श्रेष्ठ माओवादी केन्द्रको चिन्हबाट प्रदेशसभा सदस्यमा उमेदवार बन्नुभएको थियो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुलीको तत्कालीन निर्वाचन क्षेत्र नम्बर २ मा माओवादीको तर्फबाट उमेदवार बन्नुभएका श्रेष्ठले नेपाली कांग्रेसका उमेदवार मोहन बरालसँग एक हजार तीन सय मतले पराजित हुनुभएको थियो ।

प्रतिनिधिसभा सदस्यको दुई वटै निर्वाचन क्षेत्रको र निर्वाचन क्षेत्र नम्बर १ को दुई वटै प्रदेशसभाको मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।