• १२ असोज २०८१, शनिबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

नेपाल एयरलाइन्सले उडान सुरु गर्दै

blog

लक्ष्मण पौडेल

भैरहवा, कात्तिक २७ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले उडान गर्ने तयारी गरेको छ । विदेशी वायुसेवा कम्पनीमध्ये हाल कुवेतको जजिरा एयरले मात्र उडान भर्दै आएकामा अब नेपाल एयरलाइन्सले समेत उडान थाल्ने गरी तयारी गरेको हो । विमानस्थलका अनुसार आगामी डिसेम्बर अन्तिम साताबाट उडान भर्ने गरी तयारी अगाडि बढेको छ ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार अब केही दिनमा नै नेपाल वायुसेवा निगमको जहाजले पनि गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्दै छ । 

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा समिति गठन भएको र यसले अध्ययन गरिरहेको निगमले जनाएको छ । 

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनाअघि व्यावसायिक सञ्चालनमा आएको हो । यस अवधिमा अपेक्षित रूपमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि थप आकर्षण पनि दिइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक तीनभन्दा बढी उडान गर्ने विमान सेवा कम्पनीलाई अर्को उडान भैरहवाबाट गर्नैपर्ने बाध्यात्मक व्यवस्था नागरिक उड्डयन प्राधिकरणले गरेको छ । 

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन दैनिक तीनवटा भन्दा धेरै अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीले चौथो उडान भैरहवाबाट गर्नुपर्ने प्रावधान नागरिक उड्डयन प्राधिकरणले ल्याएको दाहालले बताउनुभयो ।

यही कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएपछि यी दुवै विमान कम्पनीले भैरहवाबाट उडान गर्ने तयारी गरेका हुन् ।

हिमालय एयरलाइन्सले भैरहवाबाट चार्टर उडान सुरु गरिसकेको छ । कात्तिक १७ गतेदेखि हिमालयले नियमित रूपमा चार्टर उडान थालेको हो । हिमालय एयरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाइरहेको छ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालै मात्र कुवेत एयरको उडान योजना पेस भएको छ । कुवेतको राष्ट्रिय ध्वजावाहक कुवेत एयरले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार उक्त एयरले अबको एक महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो ।

गत सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर उडान सुरु गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । भैरहवाबाट हाल कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दै आएको छ । कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ ।

डेढ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या आधा दर्जनभन्दा बढी पुग्ने क्यानले जनाएको छ । डिसेम्बर १६ बाटै प्राधिकरणले फ्लाई दुबई, कतार एयरवेज, एयर अरेबियालगायत वायुसेवालाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न निर्देशन दिइसकेको छ ।