• २३ भदौ २०८१, आइतबार

पहिलो पटक प्लाइउड निर्यात

blog

सिराज खान 

नेपालगञ्ज, कात्तिक २३ गते । बाँकेबाट पहिलो पटक भारततर्फ प्लाइउड निर्यात भएको छ । यसअघि भारतबाट तयारी प्लाइउड र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट पहिलो पटक प्लाइउड भारत निर्यात गरिएको हो ।

नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित शिखर प्लाइउडले २८ टन प्लाइउड पहिलो चरणमा भारत पठाएर निर्यात सुरु गरेको हो । 

यसअघि भारतबाट प्लाइउडका तयारी र कच्चा पदार्थ ल्याउँदै आएकोमा पहिलो पटक यस क्षेत्रबाट भारत निर्यात भएको उद्योगका प्रबन्ध निर्देशक चम्पालाल बोथराले जानकारी दिनुभयो । “२६ वर्षअघि उद्योग खोल्दा कुनै दिन भारत निर्यात गर्ने हाम्रो योजना अहिले पूरा भयो,” उहाँले भन्नुभयो ।  स्थानीय किसानले लगाउनुभएको कच्चा पदार्थका कारण यो सम्भव भएको उहाँले बताउनुभयो । 

प्लाइउडका कच्चा पदार्थ बाँकेमै उत्पादन हुन थालेपछि भारतबाट आउने करोडौँको कच्चा पदार्थ र तयारी सामानका लागि बाहिरिने रकम रोकिएको बोथराले जानकारी दिनुभयो । यससँगै नेपालबाट प्लाइउड निर्यात हुन सक्ने सम्भावनाले ठोस नतिजा प्राप्त गरेको उहाँको भनाइ छ । “स्वदेशमै कच्चा पदार्थ उपलब्ध हुन थालेपछि प्लाइउड भारत निर्यात गर्न सक्षम भएका हौँ,” उहाँले भन्नुभयो, “यसबाट विदेशिने मुद्रा रोकिएको छ भने किसानलाई पनि फाइदा पुग्ने देखिन्छ ।” 

कच्चा पदार्थको पूर्ति गर्न कम्पनी आफैँले तीन लाख इकुलिप्टिस र पोपलर (लहरे पिपल) का बिरुवा लगाएको छ । त्यही देखेर स्थानीय किसानले दुई करोड बिरुवा लगाएको उहाँले बताउनुभयो । 

कच्चा पदार्थमा आत्मनिर्भर हुँदै गएपछि बाँकेबाट तयारी प्लाई भारत पठाउन सकिएको शिखर प्लाइउडले जनाएको छ । भारतमा प्लाइउड पठाउन थालेपछि किसान थप उत्साहित भएका छन् । पछिल्लो समय यस क्षेत्रमा इकुलिप्टिस र पोपलरका बिरुवा लगाउने किसानहरू बढ्दै गएका छन् ।

सरकारले चालू बजेटमार्फत स्वदेशी उत्पादनलाई निर्यातका लागि प्रोत्साहन गर्ने नीति लिएका कारण पनि निर्यात सम्भव भएको कम्पनीले जनाएको छ । सरकारले निर्यातको करिब ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेकाले निर्यातको अवस्था सिर्जना भएको उद्योगी बताउँछन् । 

खासगरी भारतको मध्यप्रदेश र बनारसबाट समेत प्लाइउडको माग आएको उद्योगले जनाएको छ । माग बढेकाले भविष्यमा ठूलो परिमाणमा निर्यात हुने आशा जागेको उद्योगीले जनाएका छन् ।