• ११ मंसिर २०८१, मङ्गलबार

स्थानीयको व्यवस्थापनपछि करिडोरको काम अघि बढ्छ : नेता पौडेल

blog

छविलाल पाण्डे 

बुटवल, कात्तिक १४ गते । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रुपन्देही –२ बाट प्रतिनिधि सभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले तिनाउ किनारका स्थानीयहरूको उचित व्यवस्थापनपछि मात्रै तिनाउ दानव नदी करिडोरको काम अघि बढ्ने बताउनुभएको छ । 

करिडोर निर्माणले बुटवलदेखि भैरहवासम्मका तिनाउ नदी किनारका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको भन्दै उहाँले स्थानीय नदी किनारका जनतालाई विस्थापित हुन नदिने प्रतिबद्धता जनाउनुभयो । 

पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतङ्कित बनाउनु गलत भएको टिप्पणी गर्नुभयो । 

सोमबार बुटवल –११ युद्धनगरमा पार्टी कार्यकर्तासँगको भेटघाटमा पौडेलले तिनाउ–दानव करिडोरबारे छलफल गर्दै विकासका नाममा कसैले पनि घरबासविहिन हुन नपर्ने स्पष्ट गर्नुभयो । 

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै जनतालाई घरबारविहीन नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पौडेलले भन्नुभयो, ‘तिनाउ नदी किनारको बस्ती सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो, विकासका नाममा जनतालाई आतङ्कित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन ।’ रुपन्देही क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ विकास गर्नमा केन्द्रित रहेको उल्लेख गर्नुभयो । 

रुपन्देहीलाई विकासको रोलमोडल बनाउन कुनै हालतमा बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै उहाँले यसका लागि आगामी निर्वाचनमा एमालेले जित्नुपर्ने बताउनुभयो । हरेक घर परिवार तथा युवालाई रोजगार सिर्जना गर्न ठूला विकास आयोजनाको सुरुवात, औद्योगिक क्षेत्रको विकास, कृषिलाई आधुनिकीकरण तथा प्राविधिक शिक्षालाई जोड दिइने उहाँको भनाइ छ । 

कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार लीला गिरीले बुटवलको योजनाबद्ध विकासका लागि विगतमा आफू सरकारमा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेकाले निर्वाचित भएपछि त्यो काम अघि बढाउने चर्चा गर्नुभयो ।