• ७ जेठ २०८१, सोमबार

अध्यक्ष तिमिल्सिना र बेलायतको हाउस अफ कमन्सका सभामुखबिच भेटवार्ता

blog

लन्डन, कात्तिक ८ गते । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका सभामुख  सर लिण्ड्से होयलसँग भेटवार्ता गर्नुभएको छ।

बेलायती संसद् भवनमा भएको भेटवार्तामा उहाँहरूबिच नेपाल र संयुक्त अधिराज्यबिचको ऐतिहासिक सम्बन्धका विविध विषयहरू कुराकानी भएको थियो। विशेष गरी दुई देशका संसदहरु बीच भ्रमण तथा अनुभवको आदान–प्रदान, भूपू गोर्खा सम्बन्धी विषयमा कुराकानी भएको हो।

‘बेलायती संसद्को नेपाल प्रतिको सद्भाव, ऐक्यबद्धता एवं सहयोग दुई देशबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका रहेको छ,’ भेटमा अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘नेपालका लागि बेलायती संसदीय समूहले नेपाल र बेलायतको सम्बन्धलाई थप सुदृढ बनाउन खेलेको महत्त्वपूर्ण भूमिकाको म प्रशंसा गर्न चाहन्छु।‘ उहाँले कोभिड महामारीका समयमा नेपाललाई सहयोग गर्ने विषयमा बेलायती संसद्मा भएको छलफलको नेपाली जनताले स्मरण गरिरहेका बताउनुभयो। 

अध्यक्ष तिमिल्सिनाले बेलायती सेनामा कार्यरत ब्रिटिस गोर्खाहरू नेपाल र बेलायतको सम्बन्धको एक महत्त्वपूर्ण कडी रहेका बताउँदै ब्रिटिस गोर्खाहरूका पेन्सन र क्षतिपूर्ति लगायतका विषयमा बेलायती सरकारसँग केही मागहरू रहेको स्मरण गर्नुभयो। उहाँले ती मागहरू सम्बोधनका लागि द्विपक्षीय वार्ता समिति गठन भई वार्ताको तयारी भएकाले समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो। 

भेटका क्रममा तिमिल्सिनाले बेलायतमा रहेको नेपाली समुदायले बेलायत र नेपाललाई जनस्तरमा जोड्न महत्त्वपूर्ण योगदान रहेको बताउनुहुँदै बेलायती राजनीतिमा नेपाली मूलका बेलायतीहरूको समेत सहभागिता बढ्दै गएको उल्लेख गर्नुभयो।

भेटमा नेपालको तर्फबाट संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, राजदूतावासका उपनियोग प्रमुख सहभागी हुनुहुन्थ्यो।

यसैबिच अध्यक्ष तिमिल्सिनाले सोमबार (२४ अक्टोबर २०२२) मा बेलायतको संसद्मा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्मा लगायतका सांसदहरूसँग भेटघाट गर्नुभएको थियो। सो क्रममा उहाँहरूबिच दुई देशको संसदबीचको सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो। अध्यक्ष तिमिल्सिनाको सम्मानमा मैत्री समूहका अध्यक्ष शर्माले दिवा भोजको आयोजना समेत गर्नुभएको थियो।

अध्यक्ष तिमिल्सिना अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा भएको अन्तर व्यवस्थापिका सङ्घको १४५औँ सम्मेलनमा (११–१५ अक्टोबर, २०२२) सङ्घीय संसद्को प्रतिनिधिमण्डल नेतृत्व गरी सहभागी हुनुभएको थियो। 

सो सम्मेलन सम्पन्न भएपछि उहाँ गैर आवासीय नेपाली सङ्घ तथा अन्तर्राष्ट्रिय पर्वत समाज लगायतका संस्थाको कार्यक्रमहरूमा सहभागी हुन बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण रहनुभएका थियो। अध्यक्ष तिमिल्सिना आजै स्वदेश फर्कँदै हुनुहुन्छ।