• १२ मंसिर २०८१, बुधबार

निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटर: नेता बिजुक्छे

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ८ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटर भएको बताउनुभएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै मंगलबार उहाँले सो कुरा बताउनुभएको हो ।

आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रूपमा लिनुपर्छ उहाँले भन्नुभयो ।  ब्यारोमिटरको पारो तल झर्दा आधीबेरी आउने सङ्केत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि आउन आवश्यक रहेको उहाँले बताउनुभयो । संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको भन्दै निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउन आवश्यक रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरू को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरूको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छ भन्ने विषय लिएर जनताकोमा जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले निर्वाचनलाई एउटा ब्यारोमिटरको रूपमा लिँदै आएका छौँ । त्यो भनेको ब्यारोमिटरको पारो तल झर्न साथ आधीबेरी आउने सङ्केत भएजस्तै हाम्रो पार्टीले र क्रान्तिकारी पार्टीहरूको मत सीमा धेरै माथि भयो भने यसले क्रान्तिको सम्भावना हुन्छ ।‘ 

अध्यक्ष बिजुक्छेले आफ्नो पार्टी देशमा बनेका दुवै गठबन्धनमा जानु गलत साबित हुने भएकाले एक्लै निर्वाचनमा होमिएको बताउनुभयो । गठबन्धनमा मिसिने कुरालाई फोहोर पानीमा नुहाउनुजस्तै भएको उहाँले बताउनुभयो । 

आफूलाई कम्युनिष्ट भन्ने ठूला दलहरू सच्चा कम्युनिष्ट नभएको आरोप लगाउँदै अध्यक्ष बिजुक्छेले उनीहरूको काम र व्यवहारबाट सो नदेखिएको बताउनुभयो । पटक पटक सरकारको नेतृत्व गर्दा पनि जनताको पक्षमा काम गर्न नसक्नेहरू कम्युनिष्ट हुन नसक्ने उहाँको भनाइ छ ।