• १७ असार २०८१, सोमबार

काभ्रेको दुवै क्षेत्रमा एमाले र गठबन्धन उम्मेदवारबीच प्रतिस्पर्धा

blog

केदार तिमल्सिना  

काभ्रेपलाञ्चोक, कात्तिक ७ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घरदैलो अभियानमा जुटेका छन् । जिल्लाका आम मतदाताको ध्यान प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ का उम्मेदवारमा केन्द्रित देखिएको छ । 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य तथा पूर्व राज्यमन्त्री सूर्यमान दोङ र राप्रपा नेपालको महामन्त्री परित्याग गरी एमाले प्रवेश गरेर हाल एमाले पोलिटव्युरो सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामाबीच चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

२०४४ सालमा नेकपा मसालबाट राजनीतिक यात्रा सुरु गर्नुभएका दोङ नेकपा माओवादीको दश वर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गर्दै आउनुभएका दोङलाई पार्टीले बलियो उम्मेदवारको रुपमा क्षेत्र नम्बर १ मा उठाएको हो । २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा दोङले काङ्ग्रेसका मधुप्रसाद आचार्य र एमालेका संग्रामजीत लामालाई पराजित गर्दै संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७० को संविधान सभा सदस्य निर्वाचनमा भने दोङ नेपाली काङ्ग्रेसका उम्मेदवार तीर्थ लामासँग पराजित हुनुभएको थियो । 

यसैगरी २०४७ देखि बिद्यार्थी सङ्गठनबाट राजनीति यात्रारम्भ गर्नुभएका एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामालाई एमालेले क्षेत्र नम्बर १ को बलियो उम्मेदवारको रुपमा अघि बढाएको छ । राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्नुभएका लामा २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बन्नु भएको थियो । 

यस पटकको निर्वाचनमा एमालेले अघिल्ला निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयमाा मल्हम लगाउनका लागि क्षेत्र नम्बर १ को विजेता बन्ने दौडमा छ । गठबन्धनमा रहेका दलहरु पनि आफ्नो उम्मेदवारलाई विजयी गराइ विरासत जोगाउन लागिपरेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पाँच स्वतन्त्र उम्मेदवारसहित १७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । यो क्षेत्रमा मुख्य गरी गठबन्धनमा रहेका दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पार्टी जिल्ला पूर्व सभापति शिवप्रसाद हुमागाँई र नेकपा (एमाले) को तर्फबाट पूर्वमन्त्री तथा पोलिटव्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले उम्मेदवारी दर्ता गराएपछि मतदाताले यस क्षेत्रको निर्वाचनलाई बढी चासोका साथ हेरेका छन् । 

गठबन्धन र एमालेबाट उम्मेदवारी दिएका दुवै उम्मेदवार जिल्लाको हेभिवेट उम्मेदवार र जिल्ला पार्टीको नेतृत्व गरेको र दुवै नेताको जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । कांग्रेसका नेता हुमागाँई र एमालेका नेता बाँस्कोटाबीच पार्टी फरक भए पनि दुई नेताबीच सम्बन्ध राम्रो रहेकाले निर्वाचनमा दुई नेता एक आपसमा प्रतिस्पर्धामा नउत्रने आङ्कलन गरिएको थियो । 

वि.सं. २०३६ सालमा भएको बिद्यार्थी आन्दोलनमा सहभागी भई राजनीतिक यात्रा सुरु गर्नुभएका गठबन्धनका उम्मेदवार हुमागाँई पार्टीका विभिन्न भातृ सङ्गठन र चार पटक जिल्ला पार्टीको नेतृत्व गर्नुभएको छ । २०५६ मा  भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा हुमागाँई जिल्लाको क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । 

यसैगरी वि.सं. २०३८ सालमा बिद्यार्थीकालदेखि नै राजनीतिमा होमिनु भएका प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमाले तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएका पूर्वमन्त्री गोकुल बाँस्कोटा पार्टीका विभिन्न भातृ सङ्गठन र पार्टीको विभिन्न तहको नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्युरो सदस्य रहनुभएको छ । 

२०७० को संविधान सभा सदस्य पदमा काङ्ग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादेसँग पराजित हुनुभएका बाँस्कोटा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ मा काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्री समेत हुनुभयो । अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी हुनुभएका बाँस्कोटालाई यस पटक अघिल्लै विरासत कायम राख्ने हिसाबले चुनावी मैदानमा उत्रिनु भएको छ । गठबन्धन दलहरु भने एमालेको बिरासत तोड्न चुनावी रणनीति बनाएर अघि बढेका छन् । यो क्षेत्रमा मुख्यगरी गठबन्धनमा रहेका दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।