• १९ असार २०८१, बुधबार

पूर्व मेयरसँग भिड्दै खुमबहादुर पुत्र अनुराग

blog

दिवाकर पोख्रेल

देउखुरी, कात्तिक ४ गते । नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका पुत्र अनुराग खड्का आगामी मङ्सिर ४ गते निर्वाचनमा लमही नगरपालिकाका पूर्व मेयरसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । स्वर्गीय खड्काका पुत्र अनुराग पाँच दलीय गठबन्धन अन्तर्गत कांग्रेस तर्फबाट लुम्बिनी प्रदेश सांसदको लागि दाङको निर्वाचन क्षेत्र नं १ (ख) बाट उम्मेदवार बन्नुभएको हो । 

लमही नगरपालिकाका पूर्व नगर प्रमुख कुलबहादुर केसीसँग उहाँको प्रतिस्पर्धा हुँदै छ । केसी नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा निर्वाचनमा खड्कासँग चुनावमा होमिनु भएको छ । उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार जोगराज चौधरीलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । 

कुलबहादुर केसीले पहिले खड्काका विश्वासपात्र र अहिले उहाँका पुत्रसँग निर्वाचनमा होमिदा झनै रोचक लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खुमबहादुर खड्का र मेरो सम्बन्ध पारिवारिक नै हो, अहिले उहाँका पुत्रसँग निर्वाचनमा भिड्दै गर्दा रोचक र प्रतिस्पर्धात्मक हुने देखेको छु ।’ 

नगर प्रमुख भएर गर्न नसकेका काम गर्न आफू पुनः प्रदेश सांसदका लागि निर्वाचनमा होमिएको उहाँको भनाइ छ । अनुराग खड्काको राजनीतिक प्रवेशले आफू खुसी भएको र यूवाशक्ति राजनीतिक गतिविधिमा लाग्नु सकारात्मक पक्ष रहेको केसीले बताउनुभयो । अनुरागले पनि पूर्व मेयरसँगको राजनीतिक प्रतिस्पर्धा रोचक र आकर्षक भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘उहाँले पनि जनताको मन जितेरै मेयरमा निर्वाचित हुनुभएको होला, म आफै युवा भएकाले चुनौतीलाई अवसरमा बदल्ने प्रयासमा छु ।’ उहाँ मेरो बुवा सरहको राजनीतिक व्यक्तित्व हो । अग्रजसँगको प्रतिस्पर्धा रमाइलो भइरहेको उहाँले बताउनुभयो । आफू आफ्नो बुवाका सपना पूरा गर्न राजनीतिमा प्रवेश गरेको उहाँले बताउनुभयो ।  

कुनै समय नेपाली राजनीति र कांग्रेसको आन्तरिक पार्टीमा राम्रो पकड जमाउनुभएका स्व. खुमबहादुर खड्का गृहमन्त्रीसहित पटक पटक मन्त्री र पार्टीको महामन्त्री समेत बन्नुभयो । स्व. खड्काको छाप अझै दाङ देउखुरीमा ताजै रहेको स्थानीयको भनाइ छ । दाङ क्षेत्र नं १ कांग्रेसको राम्रो प्रभाव रहेको क्षेत्रमा पर्छ । स्व. खड्काकै पहलमा दाङमा  विकासे योजनाहरू सम्पन्न भएका छन् ।