• ११ मंसिर २०८१, मङ्गलबार

एमाले दोलखाको निर्वाचन परिचालन कमिटी गठन

blog

निर्वाचन परिचालन कमिटी गठनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, कात्तिक ४ गते । नेकपा (एमाले) दोलखाले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न निर्वाचन परिचालन कमिटी गठन गरेको छ । निर्वाचनलक्षित कार्यक्रमलाई वडादेखि जिल्ला तहसम्म तीव्रता दिएको एमाले दोलखाले जनाएको छ ।

एमाले दोलखाले प्रदेश (क) मा पार्वत गुरुङ र प्रदेश (ख) मा आनन्दप्रसाद पोखरेललाई कमान्डर तोकेको एमाले जिल्ला सचिव हिराकुमार थोकरले जानकारी दिनुभयो । एमालेले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको संयोजकत्वमा एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा (क) का लागि ईश्वरचन्द्र पोखरेल र प्रदेश सभा (ख) का लागि डबल पाण्डेलाई संयोजक तोकेको छ । पार्टी कमिटीको परिचालनमा सरस्वती बस्नेत, जन सङ्गठन परिचालनमा रचना खड्का, सामाजिक सांस्कृतिक परिचालनमा शान्ति पाख्रिन र वित्तीय तथा सहकारी परिचालनमा हेमन्त चौलागाईंँलाई संयोजक तोकेको छ ।

त्यसैगरी दोलखा एमालेले पार्टीका  जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरको संयोजकत्वमा ५ सय ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार कमिटी गठन गरेको छ । दुई नगरपालिका र ७ गाउँपालिका गरेर ९ वटा स्थानीय तह रहेको दोलखामा एमालेले सबै स्थानीय तहमा चुनावी संयोजक तोकेको छ ।

त्यस्तै, निर्वाचन कानुनी व्यवस्था परामर्श र व्यवस्थापन समितिको संयोजकमा कृष्ण बस्नेतलाई जिम्मेवारी दिएको छ । एमाले दोलखाले जिल्लास्तरीय पत्रकार डेस्कको कार्यालय स्थापन गरेको छ । सो कार्यालय व्यवस्थापनको जिम्मेवारी  शरद सापकोटालाई दिएको छ । दोलखामा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छ ।