काठमाडौँ, कात्तिक ४ गते । हास्य कलाकार अपूर्वक्षितिज सिंह धरौटीमा रिहा हुनुभएको छ । काठमाडौँ जिल्ला अदालतले बिहीबार सिंहलाई दुई लाख ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहलाई धरौटीमा छाड्ने आदेश दिएको अपूर्वका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।
हास्यव्यङ्ग्य कलाकार सिंहले गत भदौ १० गते ‘स्ट्यान्ड अप कमेडी’ नामक भिडियो युट्युबमा अपलोड गर्नुभएको थियो । उक्त भिडियोमा नेवारी संस्कृतिमाथि आँच आउने गरी व्यङ्ग्य गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।
सर्लाही हरिवनका अपूर्वक्षितिजविरुद्ध सो भिडियोमा नेवारी समुदाय तथा नेवाः संस्कृतिमाथि आँच पुगेको भन्दै नेवारी समुदायका अधिकारकर्मीले उहाँविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा चारवटा उजुरी दिएका थिए ।
प्रहरीले उहाँलाई गत भदौ १२ गते पक्राउ गरेको थियो । नेवाः अभियन्ताहरूले अपूर्वमाथि किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो । हिरासत बसेको ११ दिनपछि उहाँमा कोभिड सङ्क्रमण देखियो । त्यसपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयको अनुमतिमा सिंहलाई तारेखमा छाडेको थियो ।
प्रहरीले उजुरीपछि अनुसन्धान प्रतिवेदनसहित सिंहलाई गत सोमबार दोस्रो पटक पक्राउ गरी सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।
प्रहरीले अपूर्वविरुद्ध चारवटा अभियोगमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ । जसमा मुलुकी अपराध संहिता, २०७४ को दफा १६० अन्तर्गत भेदभावपूर्ण व्यवहार गर्न नहुने, दफा ६५ अन्तर्गत सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा मुद्दा चलाउन माग गरेको छ ।
त्यसैगरी दफा १६६ अन्तर्गत जातपातका आधारमा छुवाछूत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ अनुसार अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
अभियोगपत्रमा प्रहरीले सिंहलाई पाँच वर्ष कैद सजायको माग–दाबी गरिएको छ ।
कलाकारले सामाजिक सञ्जालमा राखेको भिडियो विवादित बनेपछि हटाएको र सार्वजनिक रूपमा माफी मागेपछि प्रहरी धरपकड तथा कारबाहीको माग गरिएको भन्दै व्यापक आलोचना भएको छ ।
कलाकारले माफी मागेपछि उजुरीकर्ता नेवारी समुदाय उदार बन्न नसकेको भन्दै प्रतिक्रिया आइरहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अपूर्वक्षितिजमाथि प्रहरीले कुनै पूर्वाग्रह राख्नुपर्ने कारण नभएको बताउनुभयो ।
उहाँले कलाकारले गल्ती महसुस गरे पनि उजुरीकर्ताले जाहेरी फिर्ता नलिएकाले प्रहरीले कानुनी प्रक्रियामा जानैपर्ने मैनालीले बताउनुभयो ।