• १३ मंसिर २०८१, बिहिबार

यातायात सहज बनाउन आग्रह

blog

काठमाडौँ, कात्तिक ४ गते । राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि जुम्ला, मुगु, हुम्ला र डोल्पामा हवाई सेवा प्रभावित भई आवतजावतमा कठिनाइ उत्पन्न भएको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

‘बाढीपहिरोका कारण कर्णाली प्रदेशको कर्णाली राजमार्ग असोज २१ गतेदेखि अवरुद्ध रहनुका साथै जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकको आवतजावतमा कठिनाइ उत्पन्न भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,‘ विज्ञप्तिमा उल्लेख छ । 

आयोगले आवतजावतमा देखिएको समस्याका कारण दशैँ मनाउन घर गएका नागरिक गन्तव्य स्थलमा फर्किन नपाएको, परीक्षार्थी परीक्षा स्थलमा पुग्न नपाइरहेको, आकस्मिक उपचारको आवश्यक परेका बिरामी तथा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी समस्यामा परेको, हुम्लामा चामलको भण्डारण सकिएको र जुम्लामा करिब सात सय र मुगुमा करिब १५० जना नागरिक अलपत्र रहेको पाइएको जनाएको छ । 

यस सम्बन्धमा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बिहीबार छलफल गर्नुका साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग आवश्यक जानकारी लिएको छ । 

कर्णालीमा अलपत्र नागरिक विशेष गरी सुत्केरी, गर्भवती, बिरामी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, परीक्षार्थीलाई तत्काल विशेष व्यवस्था गर्ने, वायुसेवा कम्पनीलाई जिम्मेवार बनाउने, उडान सङ्ख्या थप गर्ने, उडान नियमित गर्ने, हवाई टिकट पारदर्शी बनाउने, टिकट वितरण प्रणाली पहुँचयुक्त बनाउने, दुर्गम पहाडी तथा हिमाली जिल्ला हवाई सेवा समस्या समाधानका लागि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने नीतिगत तथा कार्यगतलगायतका विषयमा आयोगले प्राधिकरणलाई आग्रह गरेको छ ।