• ६ जेठ २०८१, आइतबार

मशाल महासचिवमा नेपाली चयन

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक ३ गते । नेकपा (मसाल) को एक समूहले विशेष महाधिवेशन आयोजना गरी नयाँ पार्टी मोटो मशाल (नेकपा मशाल) घोषणा गरेको छ । सो पार्टी औपचारिक रूपमा विभाजित भएको हो ।

पार्टीबाट विद्रोह गरेर अलग भएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गरेको छ । सो समूहले मसालका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पार्टीबाट निष्कासित गरेको जनाएको छ ।

आज बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको छ । पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा (मशाल) राखिएको मशालका महासचिव शन्तबहादुर नेपालीले बताउनुभयो । 

महाधिवेशनले नेपालीलाई नेकपा (मशाल) को महासचिव चयन गरेको छ । पार्टी प्रमुखलाई महामन्त्री पदावली दिँदैआएको मशालले अबदेखि महासचिव प्रयोग गर्ने मशालले जनाएको छ । पार्टी नेतृत्वले दक्षिणपन्थी नीतिको अभ्यास गर्दै आठौँ पार्टीलाई विसर्जनतर्फ लगेकाले आफूहरूले अर्को निर्णय गर्नुपरेको मशालका महासचिव नेपालीले बताउनुभयो ।

‘पार्टीभित्रका क्रान्तिकारीहरूले लामो समयदेखि नेतृत्वका गलत नीति सच्याउन गरेको प्रयास मसालको नेतृत्वले नसुनेकाले सातौँ महाधिवेशनको कार्यदिशालाई अगाडि बढाउन विद्रोहबाहेक अन्य विकल्प थिएन’ उहाँले भन्नुभयो । नेपाली नेतृत्वको मशालले विचार र राजनीतिमा समान भएका पक्षसँग एकीकरण तथा ध्रुवीकरणका लागि पहल गर्ने सो दलले जनाएको छ ।

निर्वाचन बहिष्कार गर्ने 

महासचिव नेपालीले मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट विभाजित नेकपा (बहुमत) सँग मिल्न सकिने पोलिटब्युरो सदस्य कृष्ण पौडेलले बताउनुभयो । 

मशालले आगामी मङ्सिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने जनाएको छ । कात्तिक महिनाभरि बहिष्कार आन्दोलनको कार्यक्रम तय भएको नेपालीले जानकारी दिनुभयो । भविष्यका चुनाव उपयोग पनि गर्न सकिने भन्दै त्यसका लागि दक्षिणपन्थी संशोधनवादसँग कार्यगत एकता मात्र गर्न सकिने मशालले जनाएको छ । 

विशेष महाधिवेशनले नेपालीलाई महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको ३५ सदस्यीय केन्द्रीय समिति चयन गरेको जनाएको छ । १५ सदस्यीय सल्लाहकार समिति तथा २ सय जनाको राष्ट्रिय परिषद्समेत गठन गरिएको सो दलले जनाएको छ ।