• १३ साउन २०८१, आइतबार

‘अधुरा काम पूरा गर्न प्रदेशमा उम्मेदवारी’

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक ३ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधुरा काम पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले कार्यकर्तासँग बुधबार हुम्लामा भएको भेटघाटमा मुख्यमन्त्री भएपछि धेरै काम गर्न नपाएको र ती काम पूरा गर्न प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो ।

उहाँले मुख्यमन्त्री भएपछि एक वर्षमा धेरै कामको सुरुवात गरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “ती पूरा नभएका र त्यसलाई पूरा गर्नका लागि अहिले पनि प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।” 

मुख्यमन्त्री शाहीले हुम्ला जिल्लाको प्रदेश (ख)बाट उम्मेदवारी दिनुुभएको छ । उहाँले कर्णाली प्रदेशलाई समृद्ध र दिगो विकास गर्न आफूले छ ‘ब’को अवधारणा अघि सारेको बताउनुभयो ।

उहाँले अबको समय विकास र परिवर्तनका एजेन्डामा केन्द्रित हुनुुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहीले कर्णालीमा सम्भावना र अवसर धेरै भए पनि काम गर्न उत्तिकै कठिन रहेकाले सडक सञ्जालको विकासबिना अन्य क्षेत्रको विकास कल्पना गर्न नसकिने बताउनुभयो ।