• १३ साउन २०८१, आइतबार

तीस वर्षपछि पुनः प्रतिस्पर्धा

blog

नवीन सुवेदी

सुर्खेत, कात्तिक ३ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १४ वडा मिलेर बनेको प्रदेश सभा २ (क) बढी महत्वका साथ हेरिएको छ । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिका प्रमुखमा प्रतिस्पर्धा गर्नुभएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल र नेपाली कांग्रेसका कालीप्रसाद शाक्य तीन दशकपछि पुनः चुनावी मैदानमा प्रतिस्पर्धी बन्नुभएको छ । 

वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा २०४९ को निर्वाचनमा यामलाल कँडेलसँग पराजित शाक्य तीन दशकपछि पुनः चुनावी मैदानमा प्रतिस्पर्धी हुनुहुन्छ ।

शाक्य २०७४ मा जिल्ला समन्वय समितिमा दाबी गर्दै वडा सदस्यमा चुनाव लड्नुभएको थियो । यद्यपि वडामै निर्वाचन हार्नुभएको थियो । त्यसपछि उहाँले अन्य कुनै पनि चुनाव लड्नुभएको थिएन । २०५१ मा भएको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसका हृदयराम थानीलाई पराजित गर्दै राष्ट्रिय राजनीतिमा उदाउनुभएका कँडेलले पाँच पटक निर्वाचनमा सहभागी हुँदा प्रतिनिधि सभामा दुई पटक (२०५१ र २०६४) र प्रदेश सभामा एक पटक (२०७४) जित हासिल गरी पर्यटनमन्त्रीसमेत बनिसक्नुभएको छ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्यसमेत रहनुभएका कँडेल कर्णालीको मुख्यमन्त्री हुने दाउमा २०७४ मा प्रदेश रोज्नुभएको थियो । यसपालि पनि मुख्यमन्त्री बन्ने होडमा प्रदेश नै उहाँले रोज्नुभएको छ । 

गत स्थानीय तह निर्वाचनको मतपरिणामलाई आधार बनाउनुभएका कँडेल कांग्रेसको आन्तरिक गुटउपगुटले आफूलाई निर्वाचन सहज हुनेमा विश्वस्त हुनुहुन्छ तर कांग्रेस संस्थापन इतर पक्षका नेता हृदयराम थानीलाई प्रतिनिधि सभाको टिकट दिँदा सुर्खेत कांग्रेसको आन्तरिक किचलो अन्त्य भएको आकलन सुर्खेत कांग्रेसले गरेको छ । सुर्खेतमा कांग्रेसको संस्थापन पक्षबाट पार्टी उपसभापति पूर्णबहादुर खड्का र इतर पक्षबाट थानीबीचको गुटगत राजनीति थियो । गुटबन्दीकै कारण स्थानीय तहको निर्वाचनमा सुर्खेतमा कांग्रेस कमजोर बन्न पुगेको थियो । 

२०४९ मा प्रमुखमा कँडेलसँग पराजित शाक्य अहिले प्रदेश सभा सदस्यमा कँडेलसँग हारको बदला लिने दाउमा हुनुहुन्छ । २०३५ सालमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीति सुरु गर्नुभएका शाक्यले पञ्चायतकालमा पार्टीको विभिन्न पदमा रही काम गर्नुभएको थियो । शाक्य पार्टीका पूर्वउपसभापति, कांग्रेस विभाजनका बेला कार्यवाहक सभापति र निरन्तर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भएका नेता हुनुहुन्छ । २०५१ सालदेखि २०५३ सालसम्म पार्टीको जिल्ला सचिव रहनुभएका शाक्य २०६२/६३ को जनआन्दोलनका बेला जिल्लाको कार्यवाहक सभापति बन्नुभएको थियो । शाक्य १३औँ महाधिवेशनमा सभापतिमा हार्ने देखिएपछि ‘ब्याक’ हुनुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका उहाँ २०४८ देखि निरन्तर महाधिवेशन प्रतिनिधि रहँदै आउनुभएको छ ।