• १३ साउन २०८१, आइतबार

सुर्खेतदेखि कालीकोटको पिलीसम्म यातायात सञ्चालन

blog

रजनी योगी

सुर्खेत, कात्तिक २ गते । कर्णाली राजमार्गको वीरेन्द्रनगर सुर्खेतदेखि कालीकोटको पिलीसम्म सडक सञ्चालन आएको छ । कर्णाली राजमार्गको दैलेख खण्डअन्तर्गतको पहिरो हटाएपछि सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

कालीकोटको मान्मदेखि पिलीसम्मको एक किलोमिटर सडक पनि खुलेको छ । पिलीदेखि नाग्मसम्मको अवरोध कायमै छ । वर्षा रोकिए पनि यो राजमार्गअन्तर्गतका सडकखण्डमा सुक्खा पहिरो खस्ने गरेको छ । जसले गर्दा सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन चुनौती भइरहेको छ । कर्णाली राजमार्गको कालीकोट खण्डको सडक बढी नै तहसनहस भएको छ ।

सडक डिभिजन कार्यालय जुुम्लाका सिनियर डिभिजन इन्जिनियर राजीव श्रेष्ठका अनुसार राजमार्गको जुुम्ला खण्डमा ब्लास्ट गर्नुपर्ने धेरै ठाउँ बाँकी नै रहेका छन् । कालीकोट सडकखण्डमा धेरै ठाउँमा पहिरो गएको छ । कालीकोटको पिलीदेखि बिर्तामोडसम्म मात्रै १७ ठाउँमा ठूलो पहिरो खसेको छ । मेसिन अभाव हुँदा काममा ढिला भइरहेको बताउँदै धेरै ठाउँमा बे्रकरको प्रयोग भइरहेको र डिजेल पर्याप्त नहुँदा काम रोक्नुपर्ने अवस्था आएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।

साधन स्रोतको अभाव भइरहे यो खण्डमा बाटो नियमित सञ्चालन हुन महिनौँ लाग्न सक्ने उहाँँको भनाइ छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार कालीकोटको सदरमुकाम मान्मदेखि पिलीसम्मको एक किलोमिटर सडकको अवरोध हटाइएको छ । उहाँले पिलीदेखि नाग्मसम्म मङ्गलबारदेखि सात÷आठवटा डोजर लगाएर पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार कालीकोट खण्डमा गएको पहिरो पूर्ण रूपमा हटाउन अझै केही दिन लाग्नेछ । उक्त सडकको अवरोध पन्छाएपछि मात्रै जुम्लाका लागि सवारीसाधन सञ्चालमा आउनेछन् ।

राजमार्गको जुम्ला खण्डमा पनि थुप्रै ठाउँमा पहिरो खसेको छ । ठूलो पहिरो हटाउने तथा चट्टान फुुटाउने मेसिन ढिला गरी पुगेकाले पनि समयमै सडकको अवरोध पन्छाउन नसकिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताउनुभयो । उहाँले सुक्खा पहिरो जाने क्रम नरोकिएकाले पनि सडक खुलाउन समस्या देखिएको जानकारी दिनुभयो । नाग्म–गमगढी सडकको नाग्मदेखि कनकासुन्दरीसम्मको सडक मर्मत भए पनि सुक्खा पहिलो जाने क्रम रोकिएको छैन । राजमार्गको रारालिही, नाग्म–गमगढी सडकखण्डमा धेरै ठाउँमा पहिरो गएको छ । अवरुद्ध भएका सबै ठाउँमा असोज २६ गतेदेखि पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जुम्ला खण्डको बाटो पूर्ण रूपमा खुलाउनका लागि अझै लामो समय लाग्ने बताइएको छ ।

जोखिमपूर्ण यात्रा

कर्णाली राजमार्गको धेरै ठाउँमा झन्डै १२ दिनदेखि सडक अवरोध भएपछि यात्रुलाई सास्ती भएको छ । दशैँ मनाएर फर्कनेहरू जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यतामा छन् । कतिपय पैदल यात्रु केही स्थानमा सवारीसाधनको प्रयोग गरेर गन्तव्यमा गइरहेको बताइएको छ । दैलेख, कालीकोट र जुम्ला सडकखण्डमा यात्रुले हैरानी खेप्नुपरेको छ । सुक्खा पहिरो खसिरहेकाले पैदल यात्रा गर्नसमेत निकै जोखिम छ । कर्णाली राजमार्ग बन्द भएपछि कतिपय यात्रुहरू मध्यपहाडी लोकमार्ग भएर ओहोरदोहोर गर्दै आएका छन् । 

ग्रामीण सडक अस्तव्यस्त

निरन्तरको वर्षाले सुर्खेतको पश्चिम क्षेत्रका अधिकांश ग्रामीण सडक बिग्रिएका छन् । स्थानीयका अनुसार पश्चिमका तीनवटै पालिकाका दर्जनौँ ठाउँमा सडक अवरुद्ध छन् । वराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका कच्ची सडक वर्षाले बिगारेको छ । सडक तहसनहस भएपछि सवारीसाधन तथा नागरिकलाई आवतजावतमा निकै समस्या भएको छ । बाढीले पुल नै फालेपछि खोला तरेर वारपार गर्नुपर्ने बाध्यता छ । केही खण्डमा चलिरहेका सवारीसाधन पनि जबरजस्ती आउजाउ गरिरहेका छन् । बिउरेनी खोलामा पुल नहुँदा यात्रुलाई निकै सास्ती भइरहेको स्थानीय कमलकुुमार न्यौपानेले बताउनुभयो । 

चौकुुने गाउँपालिका–८ मा पर्ने गुटु खोलामा समेत ओहोरदोहोर गर्न समस्या भइरहेको छ । पुल नहुँदा नागरिकलाई बिजुखोला तरेर गन्तव्यमा जान मुस्किल हुने गरेको बताइएको छ ।