• १९ असोज २०८१, शनिबार

च्छोरोल्पा हिमताल घुम्न आउने बढे

blog

दोलखा समाचारदाता 

दोलखा, कात्तिक २ गते  । पछिल्लो समय दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित च्छोरोल्पा हिमताल घुम्न आउनेहरूको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको छ। समुद्र सतहदेखि चार हजार ५८० मिटर उचाइमा रहेको यो हिमतालमा दैनिक दर्जनौँ समूहमा पर्यटक आउने गरेका छन्। विदेशी पर्यटकहरूसमेत च्छोरोल्पा हुँदै टासीलाप्चा पास गरेर सोलुखुम्बु जाने गरेका छन्। विदेशीहरू पनि पाँचदेखि छ जनाकै समूहमा भेटिएको वडाअध्यक्ष ङिमागेली शेर्पा बताउनुभयो। 

उहाँका अनुसार च्छोरोल्पा हिमतालमा पुग्ने अधिकांश युवा रहेका छन्। बिदाको समयमा सहज तरिकाले यात्रा गर्न पाइने भएकाले च्छोरोल्पा जाने गरेका हुन्। चरीकोटबाट च्छोरोल्पा चारदेखि पाँच दिनमै आवतजावत गर्न सकिन्छ। गत वर्षभन्दा यस वर्ष पर्यटक आगमन सङ्ख्या वृद्धि भएको छ। चरीकोटबाट छ्योतछ्योतसम्म यातायातको सुविधा छ। त्यहाँबाट पैदलमार्गको व्यवस्था रहेको छ। 

यो समय घुमघाम गर्ने सिजन भएकाले पनि पर्यटकको आगमनमा वृद्धि आएको हो। २०७२ सालको भूकम्पपछि पदमार्ग निर्माण भएको छ। पदमार्गमा साना ठूला गरी एक दर्जनभन्दा बढी होटलको व्यवस्था छ। पर्यटकको अवस्था हेरी सिमीगाउँ, सुर्मुचे, क्याल्चे, डोङाङ, बेदिङ गाउँमा होटलको व्यवस्था छ। 

अहिले लेक लागेका र बिरामी परेका पर्यटकको सुविधाका लागि पर्यटन व्यवसायी दावाछिरी शेर्पाले च्छोरोल्पा ताल नजिकै आवास सञ्चालन गर्नुभएको छ। यसले धेरै पर्यटकलाई सहज हुुने गरेको व्यवसायी दावाछिरी शेर्पाले बताउनुभयो। पर्यटकलाई सहजताका लागि गुगल म्याप, ब्रोसर प्रकाशन, इन्टरनेटको व्यवस्था र संस्कृति संरक्षणका लागि आर्थिक वर्ष २०७९÷८० मा तीन लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो। यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि बागमती प्रदेश सरकारले छ करोड ८१ लाख रुपियाँ बजेटको व्यवस्था गरेको छ। यो बजेटले छ्योतछ्योत–सिमीगाउँ–रोल्वालिङ–टसिलाप्चासम्म ट्रेल निर्माण कार्य भइरहेको छ। 

आगामी दिनमा वडा नं. ९ लाई पर्यटकीय गन्तव्य बनाउनका लागि होटलमा सुधार ल्याइने र होटलमा मूल्य निर्धारण गर्ने, सबै होटलहरू वडा कार्यालयमा दर्ता गर्ने, केवलकारको व्यवस्था गर्ने योजना रहेको वडाअध्यक्ष शेर्पाले बताउनुभयो।