• १ जेठ २०८१, मङ्गलबार

बिदा भयो यस वर्षको मनसुन

blog

काठमाडौँ, कात्तिक २ गते । यस वर्षको मनसुन बिदा भएको छ । मनसुन सुरु हुनुअघि ठूलो वर्षा हुने र ठूूलो जनसङ्ख्या प्रभावित हुने अनुमान गरिए पनि मनसुन पूर्वानुमानभन्दा कमजोर रहँदा प्राकृतिक विपत्बाट अनुमानभन्दा कम क्षति पुगेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो ।

मनसुन सकिने समयसम्म पनि नेपालको पश्चिम भेगमा मनसुन सक्रिय हुन सकेन । मनसुन अन्त्य हुने सम्भावित मिति असोज १६ गते अर्थात् अक्टोबर २ थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेलले भन्नुभयो, “त्यसको भोलिपल्ट असोज १७ देखि बल्ल नेपालको पश्चिम भेगमा मनसुन सक्रिय भयो, पश्चिमी भेगको क्षति बिर्सने हो भने यो वर्षको मनसुन विगतभन्दा सुखद रह्यो ।” 

त्यस समय मनसुन पश्चिम नेपालमा सक्रिय बन्यो । मनसुन बाहिरिने मितिपछि भएको बेमौसमी वर्षाले मनसुन अवधिमा भएकोभन्दा बढी मानवीय क्षति यसपालि पश्चिम नेपालमा भएको दाबी उहाँले गर्नुभयो । जेठ २२ गते पूर्वी भूभाग हुँदै नेपाल भित्रिएको मनसुन अनुमानित मितिभन्दा १४ दिनपछि असोज ३० गते सम्पूर्ण रूपमा बाहिरिएको थियो । 

जल तथा मौसम विज्ञान विभागले दक्षिण एसियाली जलवायु विश्लेषण मञ्च (सास्कोफ) र नेपालको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको यस वर्ष सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने मनसुनी विश्लेषणअनुसार नेपाल सरकारको गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका सरोकारवाला निकायले उच्च तयारी गरेका थिए । सोहीअनुसार मनसुन पूर्वतयारी प्रतिकार्य योजना–२०७९ मा २० लाखभन्दा बढी मानिस विभिन्न खालका विपत्बाट प्रभावित हुने अनुमान गरिएको थियो । 

पोखरेलले थप्नुभयो, “तर पूर्वानुमान नमिल्दा हाम्रो तयारी धेरै कार्यान्वयन गर्नु परेन, दशैँको समय मात्र अलिक बढी तनावपूर्ण रह्यो ।” उहाँका अनुसार दशैँमा कर्णाली र सुदूूरपश्चिमका जिल्लामा पहिरोले अकल्पनीय क्षति हुनुमा पहिरोको पूर्वानुमान गर्न कठिनाइ भएकाले हो । 

भीरका घर बग्नु, पहाडको फेदी र खोलाको छेउमा पहिरोले मानिस बगाउनुमा व्यवस्थित बसोबास नहुनु कारक रहेको उहाँले बताउनुभयो । पहिरोका सामान्य लक्षणबाहेक कतिखेर आउँछ भनेर पूर्वानुमान गर्न सकिँदैन । मौसम पूर्वानुमान महाशाखाको पूर्वसूचनाले महìवपूर्ण भूमिका खेलेको गृह मन्त्रालयस्थित विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाले बताउनुभयो । कोसीको बाढीले उदयपुरको बेलका नगरपालिकाको बस्ती डुबाउनु, दाङ, बर्दिया, कञ्चनपुरमा डुबान हुनुबाहेक अन्य ठूला घटना बाढीले यस वर्षको मनसुनमा निम्त्याएन । उहाँले भन्नुभयो, “तयारी देशैभरका लागि उच्च थियो, त्यति हुँदा पनि पहिरोले पछिल्लो समय बढी क्षति भयो ।”  

पूर्वानुमानका बारेमा विचार गर्नुपर्छ

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनी पूर्वानुमानका विषयमा थप विचार र विश्लेषण गरिनुपर्ने जनाएको छ । दक्षिण एसियाली जलवायु विश्लेषण मञ्चले गरेको सोझो अनुमान मात्रको भर नपरी थप अध्ययन र अन्य मोडेलहरूको प्रयोगका बारेमा विभागले आगामी दिनमा सोच्नुपर्ने अवस्था यस पटकको मौसमी अवस्थाले देखाएको वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताउनुभयो । 

अबका दिनमा एक पल्टको पूर्वानुमानमा मात्र भर नपरी अन्य दिनमा फेरि पुनरवलोकन गरेर पूर्वानुमान गरी जाँदा पनि सिजनल पूर्वानुमान, त्यसपछिको तयारी र क्षतिको सम्भावित आकलनको नजिक पुग्न सकिने उहाँले औँल्याउनुभयो । 

यस वर्षको मनसुनी पूर्वानुमानमा नेपालको मात्र नभई भारतको उत्तर प्रदेश, बिहारलगायतका क्षेत्रमा पनि सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको थियो । तर त्यहाँ पनि नेपालको जस्तै मनसुन कमजोर बनेको थियो । मौसम पूर्वानुमान गर्दा विश्वमा आइसकेको नयाँ–नयाँ प्रविधि र अन्य ठूला क्षेत्रले प्रयोग गर्ने प्रविधिलाई दक्षिण एसियाली मौसम पूर्वानुमानको पहुँचमा पु¥याउन नसक्दा पनि यस खालको कमजोर पूर्वानुमान दोहोरिने गरेको पोखरेल दाबी गर्नुहुन्छ । 

पहिरोले बढी क्षति 

यस वर्षको मनसुनमा सबै प्रकारका विपत्बाट २३२ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक हजार ४५६ वटा विपत्का घटना भएका छन् । विभिन्न विपत्मा परेर ३३ जना अझै बेपत्ता छन् भने ४६७ जना घाइते भएका थिए । विपत्का कारण प्रत्यक्ष रूपमा एक हजार ९५९ घरपरिवार प्रभावित बनेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी पहिरोले जनधनको क्षति पु¥याएको प्राधिकरणका सहसचिव रामेश्वर मरहट्ठाले बताउनुभयो । उहाँले भन्नुभयो, “पोहोर जत्तिको त हैन तर पश्चिम नेपालमा यसपालि पहिरोले अत्यधिक ज्यान लियो ।”

सूचना विश्लेषक रञ्जना श्रेष्ठका अनुसार मनसुनको अवधिभरमा पहिरोले ९२ जनाको ज्यान लिएको छ । पहिरोमा परी १७ जना अझै बेपत्ता छन् भने ८० जना घाइते भएका थिए । त्यसपछि सबैभन्दा बढी चट्याङले ६० जनाको ज्यान लिएको  छ । त्यसबाट १५७ जना घाइते बने । बाढीबाट १९ जनाको ज्यान गएको छ । थप १५ जना बेपत्ता छन् ।