• १३ साउन २०८१, आइतबार

खुल्यो कर्णाली राजमार्ग

blog

खानेपानी र विद्युत् सेवा अझै अवरुद्ध 

कर्णाली प्रदेश ब्युरो

सुर्खेत, असोज २८ गते । पहिरोका कारण सात दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ। दैलेखको आठबीस नगरपालिका–४ मा पहिरोले अवरुद्ध राजमार्गमा बुधबारदेखि यातायातका साधन सञ्चालन भएका हुन् यद्यपि कर्णालीका विभिन्न स्थानमा अवरुद्ध सडक सञ्चालनका लागि महिनौँ लाग्ने सम्भावना रहेको जनाइएको छ। बाढी र पहिरोका कारण कतिपय जिल्लामा खानेपानी र विद्युत् सेवासमेत अवरुद्ध हुन पुगेको छ। कर्णालीलगायत क्षेत्रमा गत बुधबारदेखि वर्षा भएको थियो।

कर्णाली कोरिडोरको हुम्ला–बाजुरा सडकखण्डको ४० भन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ। सो खण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। हुम्लामा केही समययता पहिरोमा परी घर भत्किँदा छ जनाको मृत्यु भएको छ। बाढीपहिरोले सबैभन्दा बढी क्षति पु¥याएको जुम्लाका तीन गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। त्यस्तै जिल्ला सदरमुकाम मान्ममा विद्युत् अवरुद्ध भएको बिहीबार नौ दिन भएको छ। विजया दशमीको दिन बिहान ११ बजेदेखि अवरुद्ध विद्युत् सेवा बिहीबारसम्म सञ्चालन भएको छैन।

दैलेख समाचारदाताका अनुसार राजमार्गमा खसेको ठूलो ढुङ्गालाई नेपाली सेनाको टोलीले विस्फोटकबाट फुटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार राजमार्गमा खसेको ठूलो ढुङ्गा नेपाली सेनाले हटाएपछि मङ्गलबार रातिबाट राजमार्ग सञ्चालन भएको हो।

मध्यपहाडी राजमार्ग भएर कर्णाली राजमार्ग जोड्ने दैलेखको साइखोलादेखि कालीकोटसम्म अहिले राजमार्ग सञ्चालन भएको जनाइएको छ।

कर्णाली राजमार्गको तल्लोडुँगेश्वरबाट आठबीस नगरपालिका–२, साइखोलासम्म गएको पहिरो हटाउने काम सुरु भइरहेको छ। आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले राजमार्ग खुलाउन नगरपालिकाले नसकेपछि जिल्ला प्रशासन कार्यालयलाई गुहारिएको बताउनुभयो। 

बाजुुरा–हुम्लाका चालीस ठाउँमा क्षति

हुुम्ला समाचारदाताका अनुसार कर्णाली कोरिडोरको हुम्ला–बाजुरा सडकखण्डको ४० भन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ। सो खण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। एक हप्ता लामो वर्षापछिको पहिरोले ठाउँ–ठाउँमा सडक भत्किएको छ। केही स्थानमा ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको छ। 

ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार कर्णाली कोरिडोरको बाजुरा–हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म ४० भन्दा बढी स्थानमा पहिरोले क्षति पु¥याएको छ। सडक अनुगमनपछि अध्यक्ष जैसीले कतिपय स्थानमा सडक मर्मत गर्न पनि कठिन हुने गरी क्षति पुगेको जानकारी दिनुभयो। सडकमा पहिरो र ठूला ढुङ्गा खसेको बताइन्छ। हुम्ला खण्डभन्दा बाजुरा खण्डमा बढी क्षति पुगेको छ। सडक मर्मतका लागि कम्तीमा महिला दिन लाग्नसक्ने अध्यक्ष जैसीले बताउनुभयो । सडक यातायात अवरुद्ध भएपछि दक्षिणी हुम्लाका चारवटा गाउँपालिकाका बासिन्दालाई बिरामी पर्दा जिल्लाबाहिर उपचार गर्न लैजानसमेत समस्या भएको छ।

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डको सडक अवरुद्ध भएको जानकारी दिनुभयो। माथिल्लो हुम्लाको सिमकोट खार्पु र सिमकोट हेक्पा खोलाको सडक पनि पहिरो जाँदा भत्किएकाले यातायात सेवा अवरुद्ध भएको छ। 

पहिरोमा परी छ जनाको मृत्यु

हुम्लामा केही समययता पहिरोमा परी घर भत्किँदा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। तीनवटा गाउँपालिकाका छुट्टाछुट्टै पहिरोका घटनामा परी उनीहरूको मृत्यु भएको हो। यसअघि वर्षाले पहिरो जाँदा चार जनाको मृत्यु भएकोमा थप दुई जनाको मृत्यु भएको हो। 

ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले ताँजाकोट–४ को गल्लावाडामा घर भत्कँदा २२ वर्षीय हेमराज ढकालको मृत्यु भएको बताउनुभयो। तीन दिनअघि घर भत्किँदा घटनास्थलमै ढकालको मृत्यु भएको अध्यक्ष जैसीले जानकारी दिनुभयो। सर्केगार्ड गाउँपालिका–१, नात्तागाउँमा घर भत्किँदा २३ वर्षीय तिल सुनारको मृत्यु भएको छ। सो वडाका पूर्वअध्यक्ष कुुल बुढाका अनुसार गाउँमा मानवीय र भौतिक क्षति भएको छ।

केही समयअघि पहिरोले घर भत्किँदा चङ्खेली गाउँपालिका–६ मासीधारा गाउँको देनबाडामा एकै परिवारका चार जनाको मृत्यु भएको थियो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले वर्षापछिको बाढी र पहिरोको क्षति विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो।

सङ्कटग्रस्त घोषणा गर्न माग

जुम्ला समाचारदाताका अनुसार बाढीपहिरोले सबैभन्दा बढी क्षति पु¥याएको जुम्लाका तीन गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले सिञ्जाका कनकासुन्दरी, हिमा र सिञ्जा गाउँपालिकामा जनधनको अत्यधिक क्षति भएकाले सङ्कटग्रस्त घोषणा गर्न माग गरेको हो। यी पालिकामा राहत, उद्धार तथा पुनस्र्थापनाका लागि सङ्घीय सरकारसँग मागसमेत गरिएको छ।

बिहीबार बसेको बैठकले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१) बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिञ्जा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिका–१, ३, ४, ६, ७ र ८, तिला गाउँपालिका–१, २, ३, ४, ६ र ७, गुठीचौर गाउँपालिका–१ र २ र पातारासीको ३ नम्बर वडालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरी पठाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो। 

बाढी र पहिरोले जुम्लामा एक हजार ६७५ जना विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार जिल्लामा ३१६ घर पूर्ण क्षति, ४४० घर उच्च जोखिममा र ७२६ घर आंशिक क्षति भएका छन्। जिल्लामा १० जनाको बाढीपहिरोले मृत्यु र एक जना बेपत्ता छन्।

सबैभन्दा बढी हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा यस पटक क्षति भएको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ। असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीले अहिलेसम्म कर्णाली राजमार्ग अवरुद्ध छ। जिल्लाको सम्पूर्ण शक्ति प्रयोग गरेर सडक नियमित गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। ठाउँठाउँमा पहिरो गएकाले अवरुद्ध भएको र सफाइको काम भइरहेको स्थानीय तहले जनाएका छन्। सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सिञ्जा गाउँपालिकाको कार्यालय, प्रहरी चौकीसमेत डुबानमा परेको बताउनुभयो। हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला, खलढुङ्गालगायतका गाउँमा बाढीपहिरो आएर स्थानीय विस्थापित भएका जानकारी दिनुभयो। 

बिजुली र पानी नहुँदा सकस

कालीकोट समाचारदाताका अनुसार जिल्ला सदरमुकाम मान्ममा विद्युत् अवरुद्ध भएको बिहीबार नौ दिन भएको छ। विजयादशमीको दिन बिहान ११ बजेदेखि अवरुद्ध बत्ती बिहीबारसम्म सञ्चालन भएको छैन। पहिरोले विद्युत्का पोल ढालेको र विद्युत् लाइन पनि सर्ट भएकाले सदरमुकाममा अन्धकार भएको हो। कालीकोट विद्युत् वितरण केन्द्रले विद्युत् सञ्चालन हुन अझै केही दिन लाग्ने जनाएको छ। केन्द्रका प्राविधिक प्रकाश शाहीले पहिरोले धेरै ठाउँमा पोल ढलेका कारण बत्तीको लाइन सञ्चालन गर्न कठिन भएको बताउनुभयो। 

उहाँले जङ्गलबाट विद्युत्को लाइन ल्याइएको र अवरुद्ध भएको ठाउँ पैदल हिँडेर पत्ता लगाउनुपर्ने भएकाले विद्युत् सञ्चालन ढिला हुनसक्ने बताउनुभयो। अहिले सदरमुकाममा बत्ती मात्र होइन, खानेपानीको पनि सङ्कट भएको छ। पानीको मुहान र पाइप बिछ्याइएको स्थानमा पहिरो गएकाले खानेपानी आपूर्तिमा समस्या भएको हो। खानेपानीको सहज आपूर्तिका लागि एक महिना लाग्न सक्ने जनाइएको छ।

खानेपानी व्यवस्थापनको जिम्मा लिएको खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले खानेपानी निकै टाढाबाट ल्याइएकाले दर्जनभन्दा बढी ठाउँमा पहिरोले क्षतविक्षत बनाएको र मर्मत गर्न महिना दिनयता सम्भव नदेखिएको बताउनुभयो। मान्म बजारमा पानी अभाव भएकाले गाडीबाट पानी आपूर्ति गरिएको छ। सदरमुकाम मान्ममा बत्ती नभएकाले मोबाइल चार्ज गर्न पनि नपाएको सर्वसाधारण बताउँछन्। नेपाल मजदुर किसान पार्टीका नेता जनकबहादुर विष्टले फोन चार्ज गर्न नपाउँदा सञ्चार सम्पर्कबाट विमुख भएको बताउनुभयो।

मान्म बजारका व्यवसायी पूर्णबहादुर बमले मोबाइल चार्जका लागि स्थानीय लामबद्ध हुने गरेको बताउनुभयो। मोबाइल चार्ज गरेको पनि २० रुपियाँ शुल्क लिने गरिएको छ। बत्ती नहुँदा सरकारी काम पनि प्रभावित भएका छन्। प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले पानी, बत्ती र सडकमा वर्षाले निकै क्षति पु¥याएको हुँदा यसको मर्मत गर्ने कामलाई तीव्र पारिने बताउनुभयो।