• १० मंसिर २०८१, सोमबार

घुमफिर

अनुपम दूधकुण्ड

blog

दूधकुण्ड साँच्चै सुन्दर, अनुपम र धर्तीको स्वर्गझैँ छ । मुलुकमा अनेक दूधकुण्ड छन् : लमजुङको दूधकुण्ड, दोलखाको दूधकुण्ड, खोटाङको दूधकुण्ड आदि । तिनमा सोलुखुम्बुको दूधकुण्ड विभिन्न दृष्टिकोणले उल्लेखनीय छ । 

नुम्बुर हिमालको काखमा अवस्थित दूधकुण्डको सिरानका खटाङ र करयलुङ हिमालले पनि उत्तिकै सौन्दर्य बढाएका छन् । नामैले दूधकुण्डको विशेषता प्रकट गरेको छ, दूधिलो पानी भएकाले कुण्डको पहिचान दूधकुण्ड बनेको हो । 

दूधकुण्डलाई महादेवको स्थान मानिन्छ । दूधकुण्डमा स्नान गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । दूधकुण्डलाई स्वच्छ तथा पवित्र राख्ने उद्देश्यले ‘पोखरीमा फोहोर गर्न र नुहाउन निषेध’ गरिएको छ । दूधकुण्ड पुग्नेहरू तल रहेको धारामा स्नान गरी त्यहाँ पुग्दछन् । 

पवित्र दूधकुण्डको परिक्रमा गर्ने प्रचलन छ । बाबु, आमा हुनेले चाहिँं परिक्रमा गर्न नहुने भनाइ छ । धामी, झाँक्रीहरू ढ्याङ्ग्रो ठोक्दै काम्दै मन्त्रोच्चारणसाथ दूधकुण्डको परिक्रमा गर्दछन् । दूधकुण्डको छेवैमा सेतीदेवी नागथान (पवित्र शक्तिस्थल) छ । 

दूधकुण्डबाट अलि पर थप आकर्षण छन् । गणेश, महादेव, सरस्वती, पार्वती र बुद्धका थान छन् भने तीनधारा, सम्पत्ति खोज्ने सानो कुण्ड, सन्तान माग्ने ठाउँ र आयु माग्ने रोचक ठाउँ छन् । 

दूधकुण्डलाई पुण्यप्रद, मनोकाङ्क्षा पूर्ति गर्ने पवित्र कुण्ड मानिन्छ । हिन्दु, बौद्ध तथा किराँत धर्मावलम्बीको साझा तीर्थस्थलका रूपमा रहेको ‘दूधकुण्ड’ नेपालको गौरवमयी त्रिसांस्कृतिक आस्था केन्द्र बनेको छ । 

हिमालयको उत्पत्तिसँगै दूधकुण्ड बनेको एकथरी मान्यता छ भने यसको सम्बन्ध पुराणप्रसिद्ध अमृत मन्थनसँग पनि गाँसिएको छ ।

दूधकुण्डको उत्पत्ति सम्बन्धमा विविध धारणा छन् । हिमालयको उत्पत्तिसँगै दूधकुण्ड बनेको एकथरी मान्यता छ भने यसको सम्बन्ध पुराणप्रसिद्ध अमृत मन्थनसँग पनि गाँसिएको छ । यही थलोमा समुद्र मन्थन भई देवताले अमृत प्राप्त गरेको भनाइ छ । 

किंवदन्तीअनुसार चाहिँ उहिले एउटा चौँरी गाई त्यहाँको ढुङ्गा (शिवलिङ्ग)मा गई नित्य दूध चढाउने गर्दथ्यो, त्यसैबाट दूधकुण्ड बनेको हो ।

अर्को जनश्रुतिअनुसार दूधकुण्डको सिर्जनामा फाके रिन्जी (मञ्जुश्री)को योगदान छ । यी उनै मञ्जुश्री हुन्, जसले परापूर्वकालमा चोभारको डाँडो काटेर दहको पानी बगाई काठमाडौँमा बस्ती बसालेका थिए । सिद्ध बौद्धगुरु मञ्जुश्रीले आफ्नो तन्त्रशक्तिद्वारा चोभारको डाँडो काटी पानी बगाएका बखत बाँकी रहेको पानी यहाँ ल्याई राखेको र सोही पानी दूधकुण्डमा परिणत भयो ।

पहिले पानीको होइन, दूधकै कुण्ड थियो रे ! यसबारे पनि किंवदन्ती छ । श्राद्ध खाई फर्किएका गरिब ब्राह्मणले लोभिई यस कुण्डबाट बगेको दूधकोसीको दूधमा खीर पकाएर खाएका कारण दूधकुण्डको दूध पानी बनेछ ।

दूधकुण्डमा पानी भरिंँदा शुभ हुने र कम हुँदा अशुभ हुने ठानिन्छ । दूधकुण्ड वरपर अन्य कुण्ड पनि छन् । सहस्रबेनीबाट उक्लिएपछि दूधकुण्ड नजिकै भूतकुण्ड पर्छ । भूतकुण्ड दर्शन गरेर मात्रै दूधकुण्ड जाने र फर्कंदा भूतकुण्ड हेर्न नहुने जनविश्वास छ । दूधकुण्डमुन्तिर गङ्गा, जमुना कुण्ड छन् । स्थानीय जानकारका अनुसार दूधकुण्डभन्दा झन्डै डेढघण्टा दूरीमा शिरकुण्ड र त्यसभन्दा एक घण्टा टाढा महाकुण्ड छ । महाकुण्डलाई भैरवकुण्ड पनि भन्छन् । यसबाहेक आँखेकुण्ड, ड्याङ्ग्रेकुण्ड आदि पनि छन् । 

दूधकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्दछ । महादेवको पूजा हुन्छ, किराँतीहरू महादेवलाई पारुहाङ भन्छन्, सोलु दूधकुण्ड नगरपालिका वडा नं. १ का अध्यक्ष छोङ्बा शेर्पाका अनुसार स्थानीय भाषामा ‘स्योरुङ युला’ हुन् । शेर्पा भाषामा ‘स्योरुङ’ को अर्थ सोलु हुन्छ र ‘युला’ भन्नाले देवता बुझिन्छ, यस आधारमा ‘स्योरुङ युला’को अर्थ ‘सोलुको देवता’ हुन्छ । 

पहिले चौँरी तथा भेडीगोठका गोठालाहरूले पूजा गरेपछि मात्रै अरूले पूजा गर्ने चलन थियो । अरूहरू अगावै पुग्दा त्यहाँ जुठोसुठो भई अनिष्ट हुन्छ भनेर त्यसो गरिएको हो तर अहिले सबै हरायो, चौँरीगोठ र भेडीगोठ पनि निकै कम भए । 

वडाध्यक्ष छोङ्बाको भनाइ छ, दूधकुण्डको महत्व ठूलो छ । यहाँ मागेको सबै कुरा पूर्ण हुने विश्वास छ । धन, सम्पत्ति, पशुपन्छी, सन्तान, आयु आदि माग्नेका भाकल पूरा भएका पनि छन् । भाकल पूरा भएकाहरू पटक, पटक पुग्दछन् । त्यहाँ पुग्न नसक्नेहरू फाप्लुस्थित सानो दूधकुण्ड गई पूजाआजा गर्छन् ।  

शेर्पा भाषामा ‘स्यार’को अर्थ पूर्व र ‘खुम्’ को अर्थ पवित्र अनि ‘बु’ को अर्थ भूमि हुन्छ । यस आधारमा ‘स्यारखुम्बु’ माने पूर्वको पवित्र भूमि हुन्छ । यही ‘स्यारखुम्बु’ कालान्तरमा सोलुखुम्बु कहलाएको हो । ‘स्यार’ र ‘वा’ (पा) मिली बनेको ‘स्यार्वा’ को अर्थ पूर्वको मानिस भन्ने हुन्छ, यही ‘स्यार्वा’ वा ‘स्यार्पा’ पछिल्लो समयमा शेर्पा शब्द बनेको मानिन्छ । 

सोलुखुम्बुको सदरमुकाम सल्लेरी-फाप्लु हुँदै रिङ्मु वा ताक्सिन्दु भई दूधकुण्डको कठिन तर मनोरम यात्रा तय हुन्छ । सल्लेरी वा फाप्लु (२४१३ मिटर) बाट रिङ्मु (२८२५ मिटर) - ताक्सिन्दु (३१७१ मिटर)सम्म पुग्न सवारी साधन पाइन्छ ।  त्यहाँसम्म मोटरसाइकल पनि लैजान सकिन्छ । 

बस वा हवाईजहाजबाट सल्लेरी अथवा फाप्लु पुग्नेहरू बास बस्न रिङ्मु वा ताक्सिन्दु पुग्छन् । सबेरै त्यहाँबाट हिँडी केरुङ, सरकारी पाटी, कामडाँडा, जुम्ल्याहा खोला, सानो बेनी, सहस्र बेनी हुँदै दूधकुण्ड (४६०० मिटर) पुगिन्छ । 

दूधकुण्ड जाने अन्य मार्ग पनि छन् । लुक्ला हुँदै दूधकुण्ड जानेहरू नुनथला, ताक्सिन्दु, केरुङपाटी, सरकारीपाटी, कामडाँडा, जुम्ल्याहा खोला, सानो बेनी, सहस्र बेनी हुँदै गन्तव्यमा पुग्दछन् । दोलखाबाट जाँदाचाहिँ जिरी, लामजुरा, जुनबेँसी, सहस्रबेनी भई जान सकिन्छ ।

दूधकुण्डबाट फर्कंदा सुनपाती बटुल्नेको उमङ्ग बेग्लै हुन्छ । चिन्नेहरू सुनपाती  सँगाल्छन्, नचिन्नेहरू उस्तैखाले वनस्पतिमै मक्ख पर्ने गरेका दृश्य नौलो हुँदैन । भनिन्छ, सुनपाती सुकाएर धुलो बनाई धूप बालिँदा लागोभागो हट्छ रे ! भीमसेनपाती मात्र सुनेकालाई भैरवपाती र सुनपातीको बयानले उत्सुकता बढाउने नै भयो । 

सक्नेहरू ताक्सिन्दु वा रिङ्मुबाट एकै दिनमा दूधकुण्ड पुग्छन् । रिङ्मु-ताक्सिन्दुबाट  १२-१३ घण्टा हिँडी सहस्रबेनी पुग्नसके बेस हुने रहेछ । अनि भोलिपल्ट बिहान झन्डै चार घण्टाको यात्रा पूरा गरी दूधकुण्ड पुग्न सकिन्छ । रिङ्मु वा ताक्सिन्दुबाट थालिएको यात्रा केही बेरमै उकालिन थाल्छ । आँट गरी विस्तारै पाइला सार्नेहरू गन्तव्यमा पुगेरै छाड्छन् । उक्लिँदै जाँदा लेक लाग्ने समस्याले पनि कतिपयलाई पिरोल्छ । जान्नेहरू पोकोबाट मकै झिक्दै खाँदै, टिम्मुरको अचार चाट्दै र लसुनले जिब्रो फड्कार्दै हिँडेका पनि देखिन्छन् । कसैले त मुखभरि सातु पनि दलेका हुन्छन् । 

टाउको दुख्ने तथा सासै फेर्न गाह्रो हुन थाल्यो भने लेक लागेको जानी आएकै बाटो तल झर्नु भन्दारहेछन् । तातोपानी, जुस, सुप आदिको सेवनले ओखतीको काम गर्दोरहेछ । 

सारा थकान, ग्लानि बेनीले मेट्दो रहेछ, अझ सहस्रबेनीको सौन्दर्य त विलक्षण छ । फुल्ने याम हुँदो हो त बाटामा गुराँस र चिमालले कत्ति आनन्द बर्साउँदा हुन् ! गुराँस र चिमालका जङ्गलबाट गुज्रँदा कल्पनाले पनि बेग्लै प्रसन्नता दिँदोरहेछ । फर्कंदा सानो बेनी वा कामडाँडातिर बास बसी भोलिपल्ट फाप्लुको बाटो तताउनु सहज हुन्छ । जाँदा वा फर्कंदा कामडाँडाबाट देखिने सगरमाथाको मनमोहक दृश्यले सबै थकान ‘छुमन्तर’ गरिदिन्छ ।

अद्भुत आनन्ददायी धर्तीको स्वर्गतुल्य ठाउँमा जनैपूर्णिमामा मात्रै यात्रा चल्नु उचित होइन । मेलामा खोलिएका पसल पनि भोलिपल्टै बन्द हुने रहेछन् । रिङ्मुमै पनि हिउँदमा एक फिट जति हिउँ पर्छ । रिङ्मु-ताक्सिन्दु सगरमाथा जाने प्रवेशद्वार भएकाले यहाँसम्म विदेशी पर्यटक पनि आउँछन् । आन्तरिक वा बाह्य दुवैखाले पर्यटकलाई ज्यादै हिउँ पर्ने पुस र माघ महिनाबाहेक अरू बेला दूधकुण्ड पुर्याउन सकिन्छ । 

यसपालि जनैपूर्णिमाको मेलामा यात्रुगणले मीठो, नमीठो दुवै स्वाद चाखे । सुखद अनुभूति के रह्यो भने यसपालि मौसमले साथ दियो । बर्सेनि दूधकुण्ड पुग्नेका भनाइमा ‘विगत सात वर्षमा पहिलो पटक  छ्याङ्ग उज्यालो घमाइलो दिन रह्यो, नत्र वर्षा र हुस्सुले बाटै ठम्याउन गाह्रो पर्थ्याे !’ नमीठो अनुभूति चाहिँ सहस्रबेनी र दूधकुण्ड आदि ठाउँमा बास बसेकाले बेहोर्नुपर्याे । ठाउँ, ठाउँमा प्लास्टिकले बारिएका ‘टनेल’  जस्ता होटल भए पनि ती अपुग थिए । सुत्न त परै जाओस्, ओत लागेर बस्न पनि कत्तिले ठाउँ पाएनन् । 

दुस्तर मार्गमा कदाचित् केही भइहाले गुहार्न न कुनै निकाय थियो, न कोही रक्षक । खटाइएका सुरक्षाकर्मी तथा मेडिकल टोली पनि दूधकुण्डमै सीमित हुँदा अन्यत्र रामभरोसेको स्थिति थियो । सोलुदूधकुण्ड नगरपालिकाको गुरुयोजनाअनुसार सहस्रबेनी र दूधकुण्डमा धर्मशाला बनाइनेछ । हाल होटलको संरचना राम्रो छैन, तिनलाई अनुदान दिई व्यवस्थित गरिनेछ । दूधकुण्डसम्म सडक तथा केबलकार लैजानेबारे पनि प्रारम्भिक अध्ययन हुनेछ । दूधकुण्ड पर्यटकीय पदमार्गको ‘सर्भे’ भइरहेको छ । साइकल मार्ग पनि बनाउने योजना छ । 

Author

निर्मलकुमार आचार्य