• १३ साउन २०८१, आइतबार

चुनावी खर्च नबुझाउने बागलुङका ५११ जनालाई कारबाहीको सिफारिस

blog

बागलुङ, असोज ९ गते । स्थानीय तह निर्वाचन–२०७९ मा खर्च विवरण नबुझाउने बागलुङका आठ सय ११ जना उम्मेदवारलाई कारबाहीको लागि सिफारिस गरिएको छ । 

निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने व्यवस्थालाई नजर अन्दाज गर्ने उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालय बागलुङले जरिवाना गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको हो । 

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तह रहेको बागलुङमा दुई सय ७९ जनाले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । बागलुङमा चार नगरपालिकामा प्रमुख र उपप्रमुख पदका १९ जना र छ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका २६ जनाले निर्वाचनको खर्च विवरण समयमा बुझाएका छैनन् । 

यस्तै वडा अध्यक्ष र वडा सदस्यमा उम्मेदवार बनेका नगरपालिकाका ४०७ जना र गाउँपालिकाका  ५९ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले बताउनुभयो । 

खर्च विवरण नबुझाउनेमा बागलुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठसहित प्रमुख पदका उम्मेदवार सुरज खड्का, मञ्जु माया क्षेत्री र निल प्रसाद आचार्य, उपप्रमुख पदका उम्मेदवार राजु खड्का, सञ्जय खड्का, तारा कुमारी रिजाल र जीवन आचार्य रहनुभएको  छ । 

गलकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार पूर्ण बहादुर काउचा, मन्जु शर्मा, डम्मर बहादुर केसी र दीपेन्द्र साहानी, उपप्रमुख पदक उम्मेदवार रुपा विक, जैमिनी नगरपालिकाका प्रमुख पदका उम्मेदवार काशीराम आचार्य, निर्मला बानियाँ क्षेत्री सापकोटा र उपप्रमुख पदका उम्मेदवर चीना केसी रहनुभएको छ । 

ढोरपाटन नगरपालिकाका प्रमुख पदका उम्मेदवार निम बहादुर भण्डारी, श्याम घर्तीमगर, उपप्रमुख पदका उम्मेदवार तारा कुमारी पुनले पनि चुनावी खर्च विवरण बुझाउनुभएको छैन ।

गाउँपालिका तर्फ काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार डिल बहादुर कार्की, उपाध्यक्ष पदका उम्मेदवार कोपिला कुमारी पुन, मिलन थपा, तमानखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार देव बहादुर पुन, हिमाल खत्री, ओम प्रसाद पुन, उपाध्यक्ष पदका उम्मेदवार निशु रसाइली, गिता घर्ती मगर र तारानाथ सिर्पाली, ताराखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश घर्ती मगर, रिसीराम रोका, याम बहादुर रोका र उपाध्यक्ष पदका उम्मेदवार थम माया घर्तिले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी शर्माले बताउनुभयो । 

निसीखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अञ्चल शाही, कृष्ण बहादुर मल्ल, उपाध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर घर्ती मगर, भोटु चन्द, शान्ता कुमारी सेन र जुन विक्रम शाही, बडिगाड गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राजन कुमार पाइजा, मन प्रसाद घर्ती, उपाध्यक्ष पदका उम्मेदवार मिन कुमारी माझी, डिल कुमारी क्षेत्री, बरेङ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रदिप थापा मगर र उपाध्यक्ष पदका उम्मेदवार दुर्गा कार्की थापा क्षेत्रीले खर्च विवरण बुझाउन बाँकी छ । 

विवरण पेश नगर्नेले खर्च गर्ने सीमा क्षेत्र बराबरको जरिवाना तिर्नुपर्ने जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी शर्माले बताउनुभयो । उहाँले निर्वाचन आयोगले खर्च विवरण नबुझाउने नगरपालिकाका प्रमुख र उपप्रमुखलाई चार लाख ५० हजार रुपियाँ, नगरपालिकाका वडा अध्यक्ष र वडा सदस्यहरूलाई दुई लाख रुपियाँ, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार रुपियाँ र वडाध्यक्ष र वडा सदस्यहरूलाई एक लाख ५० हजार रुपियाँ जरिवाना तोकेको बताउनुभयो । आयोगले ६ महिना भित्र जरिवाना बुझाउन पत्राचार समेत गरेको छ । जरिवाना नबुझाउनेले ६ वर्षसम्म निर्वाचनमा उठ्न नपाउने आयोगले भनाई छ ।

Author

नवीन शिशिर विक