• ४ जेठ २०८१, शुक्रबार

संविधान दिवसमा हुम्लावासीको देउडा नाच (फोटो फिचर)

blog

संविधान दिवसको अवसरमा देउडा खेल्नुहुँदै हुम्लाका स्थानीय महिला । तस्बिर : राजन रावत

हुुम्ला, असोज ३ गते । आठौँ संविधान दिवसको अवसरमा आज सोमबार स्थानीय भेषभूषामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सीता परियारसहित हुम्लावासीले देउडा खेलेर रमाइलो गर्नुभएको छ । देउडा नाचले स्थानीय महिलालाई देउडा संरक्षणमा लाग्न हौसला प्रदान गरेको उहाँहरूको भनाइ छ ।  

संविधान दिवस मनाउने क्रममा यहाँ देउडा गीत गाउने र नाच्ने कार्यक्रम राखिएको थियो । दुई वटा महिलाका समूह बनाएर देउडा गाउने र नाच्ने कार्यक्रम गरिएको थियो । मञ्चमा अतिथिको रूपमा रहनुभएका प्रजिअ परियार मञ्चबाट उठेर देउडा गाउने महिलाको लाइनमा गएर देउडा गाउनुभयो । 

प्रजिअ परियार नै देउडा गाउन नाच्न थाल्नुभएपछि स्थानीय महिला उत्साहित हुनुभएको थियो । कार्यक्रममा प्रजिअ परियार बिहानैदेखि स्थानीय महिलाले लगाउने भेषभूषामा सजिनुभएको थियो । शब्द नबुझे पनि सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशिला रोकायाले उहाँलाई भाषामा सहयोग गर्नुभएको थियो । 

प्रजिअले देउडा गाउन थालेपछि महिला समूहले उहाँलाई केन्द्रित गरी गीत गाउँनुभयो । महिलालाई स्थानीय भेषभूषामा सजिएर देउडाको महत्व दर्साउन आफूले पनि जानीनजानी देउडा गाएको उहाँले बताउनुुभयो ।  आफूले कुनै रहर नभई देउडा गीतको संरक्षणमा सहयोग पुगोस् भनेर देउडा खेलमा सहभागी भएको उहाँको भनाइ छ । स्थानीय महिलासँग प्रजिअ परियार करिब एक घण्टा देउडा खेल्नुभयो । 


Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।