• १३ साउन २०८१, आइतबार

हराउँदै सार्वजनिक धारा र कुवा

blog

दमौली स्थित शिव पाञ्चायन मन्दिर परिसरमा सुकेको सार्वजनिक धारा । तस्बिर: अमरराज नहर्की

तनहुँ, असोज १ गते । हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ । 

मूलको संरक्षण नहुँदा सदरमुकाम दमौलीस्थित व्यासगुफा र शिव पाञ्चायन मन्दिर परिसरमा रहेका कुवा र धाराहरू  वर्षा याममा समेत सुकेर बसेको छ । धार्मिक स्थलमा रहेका कुवा र धारा समेत सुकेर पानी नआए पनि त्यसको संरक्षणमा कसैको ध्यान गएको छैन । वर्षौँ अघि बनाइएका दुई धारा र कुवामा हाल सुकेकाले उपयोगविहीन भएका छन् । 

धार्मिक तथा आध्यात्मिक कुरालाई विकास नठान्दा धारा तथा कुवाहरू मासिन थालेको दमौलीस्थित व्यास गुफामा बस्दै आउनु भएका शान्ति स्वरुपानन्द दामोदर बाबाले बताउनुभयो । पुर्खाले कुवा, धारा बनाउने र धन नभएर बनाउन नसक्नेले घैटोमा पानी भरेर बटुवालाई दिने गर्ने गरेको स्मरण गर्दै दामोदर बाबाले मानिसमा धर्म कमाउनभन्दा पैसा कमाउन ध्यान गएकाले कुवा र धाराहरू हराउँदै जानु अर्को कारण रहेको बताउनुभयो । 

व्यासगुफा र शिव पाञ्चायन मन्दिर परिसरका जस्तै जिल्लाका अधिकांश स्थानमा सार्वजनिक धाराहरू अलपत्र अवस्था परेको देखेको दामोदर बाबा बताउनुहुन्छ ।

विशेष गरी सहरी क्षेत्रमा प्यास लाग्यो भने पानी किनेर खानुको विकल्प छैन । सार्वजनिक धारा छैन बोतललाई २५ रुपियाँ तिरेर खानुपर्ने बाध्यता छ । पहिला जताततै सार्वजनिक धारा र कुवा हुन्थे अहिले र औँलाले गन्न सकिने मात्रै पाइने गरेको जेसिआई व्यास नगरका निवर्तमान अध्यक्ष लक्ष्मीभक्त खनालले बताउनुभयो । पहिला थुप्रै भए पनि दमौली बजारमा सार्वजनिक धारा एउटा पनि नभएकोले जेसिजले सार्वजनिक धारा बनाएको उहाँले जानकारी दिनुभयो । आफ्नै इतिहास, सम्पदा तथा संस्कृति नामेट वा ध्वस्त पार्नुहुँदैन र पैसा नहुनेले पानी पनि पिउन नपाउने अवस्थाको हुनुहुँदैन भनेर धारा बनाएको खनाल बताउनुहुन्छ ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्लेले बजार क्षेत्रमा जोडिएर बनेका घर, पक्की सडक धेरै हुने र रुख, पोखरी नहुँदा पानीको मुहान सुक्दै गएकोले पनि पुर्खाले बनाएका कुवा र धारा नाश हुँदै गएको बताउनुभयो । ग्रामीण क्षेत्रमा समेत जथाभाबी मोटर बाटो लैजाने, पोखरीहरू नास हुने,  धर्म हुने विश्वासमा वर, पिपल, समी, आँप जस्ता ठुला रुखहरू लगाउने तथा हुर्काउने प्रचलन हराएकोले पानीको मूल सुकेकोले सार्वजनिक धारा पनि हराउन थालेको बताउनुभयो । 

Author

अमरराज नहर्की