• २९ वैशाख २०८१, शनिबार

अर्थतन्त्र सकारात्मक

blog

काठमाडौँ, भदौ १९ गते । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सकारात्मक ढङ्गले अगाडि बढेको बताउनुुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएकाले अर्थतन्त्र सबल र सुधार हुँदै गएको बताउनुभयो । 

“सही नीति नलिएको भए मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तै हुने अवस्था आउने थियो । सरकारले बेलैमा होसियारी अपनाएका कारण मुलुक सङ्कटबाट जोगियो,” अर्थमन्त्री शर्माले भन्नुभयो । 

मुलुकमा लगानीयोग्य रकम अभाव रहेकाले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने मन्त्री शर्माले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिएको मन्त्री शर्माले जानकारी दिनुभयो । निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापना गर्न कार्यविधि तयार बनाई निर्यातमा नगद अनुदानको समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

उपयुक्त लगानीको वातावरण निर्माणका लागि सरकारले सहजीकरण गरिहेकाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई मन्त्री शर्माले आग्रह गर्नुभयो । देशमा लगानीको वातावरण बनेको भन्दै मन्त्री शर्माले कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । 

बाह्य क्षेत्र सहज : गभर्नर

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर नेपालमा परेको बताउनुभयो । 

आयात पूर्ण रूपमा खुला गर्दा मुलुकको आर्थिक अवस्था गम्भीर हुने देखेर मङ्सिरयता सरकारले केही वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोल्न कडाइ गर्ने नीति लिएको र यसले बाह्य क्षेत्र सहज भएको उहाँले बताउनुभयो । 

असार महिनामा विप्रेषण आप्रवाह बढेको र विदेशी पर्यटकको आगमन पनि बढेको भन्दै विदेशी मुद्रा सञ्चिति बढ्दै गएकाले अर्थतन्त्र नकारात्मक नभएको गभर्नर अधिकारीले जानकारी दिनुभयो । 

चालू पुँजी खर्च निर्देशिका बजार सुधार गर्नका लागि ल्याएको बताउँदै गभर्नर अधिकारीले यसले ५० लाख रुपियाँभन्दा कम कर्जा लिनेलाई असर नगर्ने बताउनुभयो ।

“५० लाखभन्दा कम ऋण लिनेका लागि वर्किङ क्यापिटलको अहिलेको व्यवस्थाले कुनै असर गर्दैन । दुई करोड रुपियाँसम्म कर्जा लिनेलाई केही मापदण्ड बनाइएको र पाँच वर्षका लागि दीर्घकालीन प्रकृतिको कर्जा लिन सर्त राखेकाले यसलाई कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

चालू पुँजीको नाममा अहिले ओभर फाइनान्सिङ भइरहेको चर्चा गर्दै उहाँले अहिले यस विषयमा अनावश्यक हल्ला चलाइएको दाबी गर्नुभयो । दीर्घकालीन दृष्टिकोण सुधारको एजेन्डासहित असल अभ्यासका लागि चालू पुँजी निर्देशिका ल्याएको र केही जटिलता भए संशोधन गर्न सकिने गभर्नर अधिकारीले बताउनुभयो । 

विप्रेषणको प्रयोग उत्पादनमा 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले मुलुक श्रीलङ्काको अवस्थामा जान्छ भनेर सरकारी निकायहरू नआत्तिएको बताउनुभयो । यसअघि विप्रेषणबाट आएको रकम घरजग्गामा प्रयोग हुने गरेकामा अहिले उत्पादनमूलक क्षेत्रमा प्रयोग भइरहेकाले आगामी दिनमा यसले सकारात्मक परिणाम दिने उहाँले बताउनुभयो । 

पूर्वाधार, स्वास्थ्य र शिक्षामा लगानी बढाउँदै जानुुपर्नेमा जोड दिँदै उहाँले बैङ्क तथा वित्तीय क्षेत्र, यातायातलगयतका हरेक क्षेत्रमा सिन्डिकेट र कार्टेलिङ हुने गरेकाले यसलाई हटाउन अति आवश्यक रहेको औँल्याउनुभयो । 

लगानी वृद्धि भएन

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैङ्कको नीतिले निजी क्षेत्र त्रसित भएको बताउनुभयो । कोभिड–१९ को असर कम हुँदै गए पनि उद्योग व्यवसायमा अझै लगानी वृद्धि हुन नसकेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले केन्द्रीय बैङ्कले ल्याएको चालू पुँजी निर्देशिकाले व्यवसायीलाई हतोत्साहित बनाएको बताउनुभयो । उहाँले तरलता अभावले गर्दा निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउनुभयो । 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आयातमा गरिएको कडाइ चोरी पैठारी वृद्धि हुनुका साथै सरकारको राजस्वमा कमी आएको बताउनुभयो । “साना, मझौला, व्यवसायीलाई बैङ्कबाट ऋण लिन कठिन छ । अर्थतन्त्रमा नीतिगत स्थायित्व अभावले निजी क्षेत्रलाई समस्या परिरहेको छ,” उहाँले भन्नुभयो ।