• १७ असार २०८१, सोमबार

ऋषेश्वर मन्दिरमा व्रतालुको भीड

blog

काठमाडौं, भदौ १६ गते । आज ऋषि पञ्चमी । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तऋषिहरुको पूजा आराधना गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ ।

बिहीबार काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरसहित देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरूको भीड रहेको छ । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बी महिलाहरूले आजको दिन अरुन्धतीसहित सप्तऋषिहरुको पूजा गरेर यो पर्व मनाउने गर्दछन् ।

महिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गई स्नान गरी तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ । महिलाहरू आफूले गरेका त्रुटिहरूबाट मुक्त होऔँ भन्ने हेतुले सप्तऋषिहरुको पूजा गर्ने गर्दछन् । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अरुन्धतीलाई पूजा गर्ने परम्परा छ ।

यस अवसरमा आज काठमाडौंको टेकु, मुलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा, आराधनाका लागि व्रतालु महिलाहरू जम्मा भएका छन् । पौराणिक प्रसङ्ग अनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले व्रह्महत्याको ठूलो पापको दण्ड व्यहोर्नुप¥यो । त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडिएको थियो । अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), नदी (वर्षा कालको गाँज र मैलोयुक्त पानी), पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र स्त्री (रजस्वला अर्थात् मासिक धर्ममा) विभाजन गरिएको थियो ।

अतः मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूले लिनुपर्ने हिन्दु धर्मशास्त्रमा उल्लेख छ । ऋषि पञ्चमीको व्रत समापनसँगै शास्त्रीय विधानतः हरितालिका तिज पनि समापन हुने विश्वास छ ।