• १३ साउन २०८१, आइतबार

हिमाल छ, आरोही छैनन्

blog

मुगु, भदौ १२ गते । मुगु जिल्लाका कोइकी, चङ्खेली, काञ्जिरोवा हिमाल आरोहणको कार्य अघि बढ्न सकेको छैन।

जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगमकामारोङ गाउँपालिका–२ मा कोइकी हिमाल पर्छ। यो हिमालको प्रचारप्रसारको अभावले गुमनाम जस्तै छ। मुगुमकामारोङ गाउँपालिका–२ का स्थानीय छेतुङ लामाले हिमालको प्रवद्र्धन नहुँदा आरोहणको कार्य अघि बढ्न नसकेको बताउनुभयो। कोइकी हिमाल चढ्ने गरेका लामाले कहिलेकाहीँ जापानी, फ्रान्सेली, अमेरिकी पर्यटक चढ्न आउने गरे पनि आजसम्म हिमाल चढ्न नसकेको बताउनुभयो।

सदरमुकामदेखि तीन दिनमा कोइकी हिमाल पुगिन्छ। सो हिमालको फेदबाट चीनको केही दृश्यलगायत डोल्पा र मुगुका विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ। समुद्री सतहबाट झन्डै सात आठ हजार मिटरको उचाइमा पर्ने हिमालभित्र यो हिमाल पर्छ। मुगुमकामारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार कोइकी हिमाल विश्व सम्पदाको सूचीकरणका लागि गाउँपालिकाले पहल अगाडि बढाएको छ। 

यसैगरी साबिकको रुगा गाउँ विकास समितिमा तथा छायानाथ रारा नगरपालिका–१४ मा अवस्थित चङ्खेली हिमाल पनि ओझेलमा छ। यो हिमाल नेपाली एक रुपियाँको नोटमा पनि अङ्कित छ। हिमाल समुद्री सतहबाट २९ सय मिटरको उचाइमा छ। हुम्ला र मुगु जिल्लाको दोसाँधमा रहेको उक्त चङ्खेली हिमाल साबिकको कर्णाली अञ्चलकै ठूलो हिमालका रूपमा लिइन्छ। 

पर्यटकीय रूपमा सुन्दर देखिने उक्त हिमाल संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। मुगु नागरिक समाजका संयोजक रूपबहादुर मल्लले सदरमुकाम आसपासमा रहेका पर्यटकीय स्थान रारा, चंखेली र छायानाथ तीर्थस्थल ओझलमा परेका छन्। मुगुका मौलिक एवं प्राकृतिक गहनाका रूपमा रहेको चङ्खेली हिमालमा समेत पर्यटक आकर्षित गर्न नसकिएको संयोजक मल्लले बताउनुभयो। चङ्खेली हिमाल हेर्नमा मात्र आकर्षण छैन, त्यस आसपासमा डाँफे, कस्तुरी मृग, गुराँस, भोजपत्रका रुखलगायतका वनस्पति र गोदेगाड खोला पनि मुख्य आकर्षकका स्थल छन्। यो हिमाल सदरमुकाम गमगढीबाट छ घण्टाको पैदल दूरीमा पर्छ। त्यसैगरी काञ्जिरोवा हिमाल मुगुमकामारोङ गाउँपालिकामा पर्छ। यो हिमाल मुगु र डोल्पाको सीमामा अवस्थित छ। समुद्री सतहदेखि पाँच हजार फिटको उचाइमा रहेको यो हिमालको पनि संरक्षण भएको छैन। पर्यटन व्यवसायी निशा बुढाका अनुसार मुगुमा रहेका हिमाल ओझेलमा पर्नुमा सडक सञ्जालको उचित व्यवस्था नहुनु नै हो। रारासँग मुगु जिल्लाका क्षेत्र चङ्खेली हिमाल छायानाथ, खेस्ममालिका, थार्प मस्टा, कोइकी हिमालको पर्यटकीय सम्बन्ध जोड्दै मुगुको पर्यटक विकास गर्न सकिने बुढाको विश्वास छ। 

   

Author

हरिकृष्ण ऐडी