• १५ चैत २०८०, बिहिबार

जब खोप्रामा आकास खुल्यो [फोटोफिचर]

blog

म्याग्दी, साउन ३० गते । खोप्रालेकबाट हिमशृङ्खलाको अवलोकन गर्न पाइयो, किनकि यो वर्षा समयमा बाक्लो हुस्सुले वरिपरि देख्न पाइँदैन । अचेल मौसम सफा भएपछि खुलेको मौसमपछि खाेप्राबाट संसारलाई नियाल्न पाइयो । 

आँखै अगाडि खुलेको हिमशृङ्खलाले वातावरणलाई मनोमहक बनाइदिएको छ । हरियाली डाँडापाखा र टलक्क टल्किएका हिमालहरुको लहरले खोप्रा लेक साँच्चिकै सुन्दर देखिएको छ । मौसम सफा भएसँगै पर्यटक खोप्रा पुग्न थालेका छन् । 


मनोरम प्राकृतिक सौन्दर्यसहितको रमणीय खोप्रालेक म्याग्दीको पर्यटकीय सम्भावनायुक्त स्थल हो । यो समुद्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा पर्दछ ।

यहाँबाट धौलागिरि, गुर्जा, चुरेन, निलगिरि, अन्नपूर्णलगायतका हिमालहरु आँखै अगाडि देख्न सकिन्छ । साथै म्याग्दी, पर्वत, बागलुङ जिल्लाका रमणीय भूभागहरु यहाँबाट अवलोकन गर्न सकिन्छ ।  

मौसममा आएको सुधार सँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित खोप्रा लेकमा एकहप्ता यता आन्तरिक पर्यटक पुग्न थालेका छन् । मौसम अनुकूल भएसँगै पर्यटकहरु पदयात्रामा निस्कन थालेका हुन् । साँच्चिकै खोप्रा सुन्दर रहेछ बेनीबाट खोप्रा पुग्नु भएका लक्षमण शर्माले भन्नुभयो ‘म यो ठाउँमा पहिलोपटक आएको हुँ । यहाँको सुन्दरताले सबै दुःख बिर्साइदिएको छ, क्या गजब रहेछ खोप्रा ।’


खोप्रा पुग्नका लागि रमणीय सामुदायिक पदमार्गको विकास गरिएको छ । पाउद्धार गाउँदेखि सामुदायिक पदमार्गको पदयात्रामा सुन्दर गाउँबस्तीको अवलोकन गर्दै ७ घण्टाको पदयात्रापछि खोप्रा पुग्न सकिन्छ । पर्यटकको वसोवासका लागि पाउद्धार पर्यटन सहकारीद्वारा सञ्चालित सामुदायिक लज छ । मौसममा आएको सुधार सँगै आन्तरिक पर्यटकहरु खोप्रामा आउन थालेको सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले बताउनुभयो । कोरोनाका कारण दुईवर्ष खसै पर्यटक आएनन् उहाँले भन्नुभयो ‘यसपाली भने पर्यटकको चहलपहल साउनको अन्तिमदेखि नै बढ्न थालेको छ ।’

यसरी जान सकिन्छ खोप्रा 

कास्कीको धम्पुस – घान्द्रुक – दोवाटो – वहेली – डाँडखर्क हुँदै पाँचदिनमा खोप्रा पुग्न सकिन्छ । यसका साथै म्याग्दीको सदरमुकाम बेनी– वासखर्क – नांगी–महरेडाँडा, फूलबारी, स्वात –डाडखर्क हुँदै चार दिनमा खोप्रालेक पुग्न सकिन्छ । 

अर्कोतर्फ तातोपानी– पाउँद्वार हुँदै खोप्रा दुइदिनमा पुग्न सकिन्छ भने अर्को रुट कास्कीको नयाँ पुल – उल्लेरी – घोडेपानी हुँदै डाँडाखर्कबाट खोप्रा जान सकिन्छ । खोप्रालेक पुगेका पर्यटकहरु शिखको पाउँद्वार हुँदै भुरुङ तातापोनी पुगेर तातोपानी कुण्डमा रमाउँछन् । 


अर्को बाटो खोप्राबाट नारच्याङको लेकगाउँ – बेंसीगाउँ हुँदै तातोपानी झर्न सकिन्छ । भने केही पर्यटकहरु घोडेपानी वा महरे डाँडाको अवलोकन गर्दै नागी–लेस्पार–पूर्णगाउँ हुँदै कास्कीको नयाँ पुल झर्ने गर्दछन् ।



Author

ठाकुरप्रसाद आचार्य