• १६ चैत २०८०, शुक्रबार

विदेश जानभन्दा साइकलमै तरकारी बेच्न ठीक

blog

साइकलमा तरकारी बेच्दै विनोद सापकोटा । तस्बिरः अमरराज नहर्की

तनहुँ, साउन २० गते । देशमै गर्न सकिन्छ भन्ने अठोटका साथ तनहुँका एक युवकले साइकलमा तरकारी बोकी घरघरै विक्री गर्न थाल्नु भएको छ । व्याँस नगरपालिका १० कुमलटारीका २६ वर्षीय विनोद सापकोटाले बिदेश जानु भन्दा स्वदेशमा पसिना बगाउनपर्छ भन्ने सोचाईले तरकारी बिक्री थालेको बताउनुभयो । 

खेर गएको समयलाई साँझ र विहान तरकारी विक्री गरेर सापकोटाले आम्दानी गर्न थाल्नु भएकोे छ । ‘स्वदेशमा पसिना बगाए देश बन्छ, बिदेश जान भन्दा साइकलमा तरकारी विक्री गर्न ठिक’ सापकोटाले भन्नुभयो । 

मनमा जोश जाँगर आँट र कामलाई ठुलोसानो नभन्ने हो भने पैसा कमाउन विदेश जान नपर्ने उदाहरण सापकोटा बन्नु भएको छ । सापकोटाले अहिले आधुनिक खालको साईकलमा आफ्नै गाउँघरमा नै उत्पादित तरकारी दमौली बजार सम्म ल्याएर बिक्री गर्नुहुन्छ । सापकोटाले नेपालकै पोर्टल कम्पनीमा निर्माण गर्न लगाई आधुनिक प्याङ्क साइकलमा पसल राखेर तरकारी विक्री हुन्छ ।

आफ्नो गाउँघरमै उत्पादित तरकारी खरिद गरी नजिकैको दमौली बजारमा ल्याएर बेच्ने गर्नु भएको छ । तरकारी बेचेर दैनिक सात सय देखि एक हजार रुपियाँ बचत गर्ने गरेको सापकोटाले जानकारी दिनुभयो । भविश्यमा गाउँमा बाँझो रहेको जमिनको सदुपयोग गरी व्यवसायिक फलफूल तथा तरकारी खेती गर्ने सोचाई रहेको उहाँले बताउनुभयो । 

रोजगारीका लागि विदेश धाइरहेका युवाहरुलाई स्वदेशमानै श्रम र पसिना पोखेको खण्डमा आम्दानी गर्न सकिने सापकोटाको भनाई छ । बेरोजगार बसेका आम युवाहरुलाई साइकल चलाएपछि व्यायम हुने र व्यस्त पनि रहने तथा आम्दानी पनि हुने भएकोले समय खेर नफाली समयको सदुपयोग गरी दौडनको लागि पाइला चाल्नै पर्ने उहाँ बताउनुहुन्छ । 

Author

अमरराज नहर्की