• ११ वैशाख २०८१, मङ्गलबार

नेपालगन्ज म्याराथन मङ्सिरमा

blog

काठमाडौं, साउन १५ गते । आठौं धारा नेपालगन्ज म्याराथन आगामी मङ्सिरमा हुने भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले सोमबार प्रेस विज्ञप्ति निकाल्दै म्याराथन प्रतियोगिता मङ्सिर ३ गते शनिबार आयोजना गर्ने उल्लेख गरेको छ ।

म्याराथनका लागि खेलाडी दर्ता प्रक्रिया असार १५ गतेदेखि सुरु भएको बताइएको छ । म्याराथनमा विभिन्न १० स्पर्धा समावेश गरिएको म्याराथनका संयोजक टीएस ठकुरीले जानकारी दिनुभयो । पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१ किमी), १० किमी पुरुष खुला, ५ किमी महिला खुला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुलस्तरीय छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेरसमूह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।

स्कुलस्तरीय दौड बाँके जिल्लास्तरीय मात्र हुनेछ । संयोजक ठकुरीका अनुसार यस पटक कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ । यसअघिल्लो संस्करणमा पुरुषतर्फ म्याराथन उपाधि एपीएफका किरणसिंह बोगटी र महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभएको थियो ।