• २१ वैशाख २०८३, सोमबार

तरकारी उत्पादनमा ह्रास, मूल्य आकासियो

blog

लालबन्दीस्थित थोक तरकारी बजार । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता 

सर्लाही, वैशाख २१ गते । बारम्बार वर्षा भएर तरकारीबालीमा क्षति गरिरहँदा उत्पादनमा व्यापक कमी आएको छ । मधेश प्रदेशकै प्रमुख तरकारी बजारका रूपमा रहेको लालबन्दी थोक तरकारी बजारमा हरेक हरियो तरकारी किसानले कम परिमाणमा ल्याइरहेका छन् ।

बजारका व्यापारी मोहम्मद उस्मानका अनुसार एक हप्ताअघिसम्म एकै दिन आठ क्विन्टलसम्म बोडी बेच्न ल्याउने किसानले अहिले मुस्किलले एक/डेढ क्विन्टल ल्याइरहेका जानकारी दिनुभयो । 

सर्लाहीमा एक सातादेखि बारम्बार पानी परिरहेर तरकारीबालीमा सबैभन्दा बढी क्षति गरेको किसानले गुनासो गरेका छन् । लालबन्दी नगरपालिका–१०, हिरापुरका किसान राममिलन रायले बारम्बार ठुलो पानी परेर तरकारीको बोट नै डुबानमा परेकाले उत्पादन नै हुन नपाएको गुनासो गर्नुभयो ।  

यहाँ अहिले मुख्य गरी मिटर बोडी उत्पादन हुने समय हो । उत्पादन कम हुँदा थोक बजारमै बोडीको मूल्य तेब्बरले वृद्धि भएको छ । 

लालबन्दी थोक तरकारी बजारमा एक साताअघिसम्म प्रतिकेजी १० देखि १५ रुपियाँ रहेको बोडीको मूल्य बढेर अहिले प्रतिकेजी ६० देखि ८० रुपियाँ पुगेको छ । यस्तै सर्लाहीका किसानले अहिले परबर र चिप्ली भिन्डी पनि धमाधम उत्पादन गरिरहेका छन् । 

परबर प्रतिकेजी ४० रुपियाँबाट बढेर ५५ रुपियाँ र भिन्डी ३० रुपियाँबाट बढेर ४५ देखि ५० रुपियाँ प्रतिकेजीसम्म पुगेको छ । तरकारीको मूल्य बढ्दा पानीबाट क्षति बेहोरेका किसानलाई राहत मिले पनि उपभोक्ता भने मारमा परेका छन् । 

स्थानीयस्तरमै उत्पादन कम भएपछि सर्लाहीबाट देशका विभिन्न सहरमा पुग्ने तरकारीको परिमाणमा कमी आएको लालबन्दी थोक तरकारी बजारका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

लालबन्दी तरकारी बजारमा लालबन्दीसहित हरिवन, ईश्वरपुर, चन्द्रनगरलगायत सर्लाहीका आधा दर्जन पालिका र महोत्तरीको बर्दीबास तथा गौशाला नगरपालिका क्षेत्रका किसानले तरकारी ल्याएर बेच्ने गरेका छन् ।