गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ११ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको ‘श्रम सहायता कक्ष’ लाई थप व्यवस्थित गरी चौबिसै घण्टा सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजगारीमा जाने र फर्किने श्रमिकलाई सहजीकरण गर्ने उद्देश्यसाथ यसअघि दुई सिफ्टमा सञ्चालन भएको सहायता कक्षलाई तीन सिफ्टमा विस्तार गरेर चौबिसै घण्टा सञ्चालनमा ल्याएको हो । गत मङ्गलबारदेखि थप व्यवस्थित गरेको जनाइएको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) सहकार्यमा ११ जना कर्मचारीमार्फत श्रम सहायता कक्ष सञ्चालन गरिएको छ ।
श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेले वैदेशिक रोजगारीमा जाने श्रमिकको हकहितका लागि श्रममन्त्रीस्तरीय निर्णयबाट सहायता कक्षलाई थप व्यवस्थित गरी सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उहाँले कुनै पनि बहानामा वैदेशिक रोजगारीमा जाने श्रमिक नठगिऊन् भनेर जानकारी दिने उद्देश्यसहित सहायता कक्ष चौबिसै घण्टा सञ्चालनमा गरिएको बताउनुभयो । सहसचिव घिमिरेका अनुसार मन्त्रालय, विभाग र बोर्डबाट खटाइएका कर्मचारीमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नेपालको कानुनी प्रक्रिया पूरा गरेर सहज रूपमा विदेश प्रस्थान गर्ने वातावरण बनाउने काम हुँदै आएको छ । विदेशमा अप्ठ्यारो परेमा सहयोग लिने दूतावासका कर्मचारीको नाम, नम्बर र ठेगानासमेत जानकारी गराइने गरेको छ ।
श्रम सहायता कक्षमा नयाँ जानेभन्दा पनि यसअघि नै वैदेशिक रोजगारीमा गई फर्केर आएपछि पुनः जानेले बढी चासो राख्ने गरेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिनुभयो ।