• ११ वैशाख २०८३, शुक्रबार

दरबन्दी विवरण पठाउन ढिलाइ

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख ११ गते  । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई साताअगाडि सबै स्थानीय तहलाई स्वीकृत दरबन्दीको एकमुष्ट विवरण मन्त्रालयमा पठाउन परिपत्र गरे पनि अहिलेसम्म ५५० भन्दा बढी स्थानीय तहले अझै स्वीकृत दरबन्दीको विवरण मन्त्रालयमा पठाएका छैनन्  । गत २०८२ चैत २२ गते मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीको स्वीकृत दरबन्दीसम्बन्धी एकमुष्ट विवरण तयार गरी मन्त्रालयको इमेल ठेगानामा पठाउन निर्देशन दिएको थियो । मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई परिपत्र गर्दै विवरण पठाउन आग्रह गरे पनि अहिलेसम्म दुई सय स्थानीय तहले मात्र विवरण मन्त्रालयमा पठाएका छन् भने बाँकी स्थानीय तहले अझै विवरण पठाएका छैनन् । 

मन्त्रालयका प्रवक्ता नीता पोखरेल अर्यालले विवरण आउने क्रम जारी रहे पनि अधिकांश स्थानीय तहले स्वीकृत दरबन्दी विवरण मन्त्रालयमा नपठाएको बताउनुभयो ।