• १० वैशाख २०८३, बिहिबार

स्तरोन्नति हुँदा रोजगारी गुम्ने चिन्ता

blog

विराटनगर समाचारदाता

विराटनगर, वैशाख १० गते । नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपालको टेक्स्टायल तथा कपडा उद्योगले ठुलो क्षति बेहोर्नुपर्ने भन्दै उद्यमीले चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको सूचीमा नेपाल अति कम विकसितको सूचीमा रहेकाले अमेरिकामा नेपाली टेक्स्टायल तथा कपडा निर्यात गर्दा शून्य भन्सार सुविधा प्राप्त हुँदै आएको छ । नेपाल कम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति हुँदा यो सुविधा काटिने चिन्ता सम्बन्धित उद्योगीको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी र सावतीले आयोजना गरेको अन्तर्क्रियामा सहभागीले एलडिसीबाट स्तरोन्नति हुँदा पर्ने नकारात्मक प्रभावबारे सरकारले कूटनीतिक पहल गर्नुपर्ने औँल्याइएको छ । 

सहुलियत हट्दा नेपालका टेक्स्टायल तथा कपडा निर्यात प्रभावित हुने र यसबाट आगामी पाँच वर्षमा एक लाख २५ हजार रोजगारी गुम्न सक्ने जोखिम देखाइएको छ । रोजगार गुमाउनेमा पनि ६८ हजार महिला हुने तथ्याङ्कमा उल्लेख छ । सन् २०२६ देखि २०३० सम्ममा टेक्स्टायल तथा गार्मेन्ट उद्योग खस्कने श्रेणीमा पर्ने दाबी छ । 

कार्यक्रममा सावतीका कार्यकारी निर्देशक पारस खरेलले अमेरिकाले सुविधासहितको कोटा दिँदा सन् २००३ मा २२ करोड डलरको गार्मेन्ट निर्यात भएको जानकारी दिनुभयो । अहिले वार्षिक आठ करोड डलर बराबरको मात्रै निर्यात रहेको छ । विश्व बैङ्कले गरेको अध्ययनमा नेपालबाट यस्ता वस्तु वार्षिक ११९ करोड डलरको निर्यात सम्भावना देखाएकोे खरेलले औँल्याउनुभयो । एलडिसीको श्रेणीबाट स्तरोन्नति भएसँगै टेक्स्टाइल र गार्मेन्ट ७० प्रतिशतले खस्किने बताइएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले रोजगारी सिर्जनामा उल्लेख्य योगदान दिएका नेपालका गार्मेन्ट तथा टेक्स्टाइलका कोटा प्रणाली अन्त्य भएसँगै समस्यामा रहेको बताउनुभयो । उहाँले अबको लगानी प्रविधिमा र बजारीकरण अन्तर्राष्ट्रियस्तरमा गर्न निजी क्षेत्र लाग्नुपर्ने बताउनुभयो तर नेपाल–भारत खुला सिमानाका कारण भित्रिने कपडाले बजार खिचेको सम्बन्धित उद्योगीको गुनासो छ । प्रगति टेक्स्टाइल उद्योगका व्यवस्थापक प्रदीप निरौलाले आन्तरिक बजारमै अवैध तरिकाले भित्रिएका कपडा हावी भइरहेको बेला अन्तर्राष्ट्रिय बजारमा पर्ने प्रभावले गार्मेन्ट तथा टेक्स्टायल उद्योगको भविष्य कमजोर बनिरहेको बताउनुभयो ।