• २८ चैत २०८२, शनिबार

सञ्चार माध्यमलाई उत्तरदायी बनाइने

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, चैत २८ गते । नेपाली मूलधारका सञ्चार माध्यमका सम्पादकले मिडियामा प्रकाशित गर्ने समाचार लैङ्गिक उत्तरदायी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय महिला (युएन ओमन) बेजिङ ३० लगायत चार संस्थाले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा १० मिडियाका सम्पादकले लैङ्गिकयुक्त समाचार प्रकाशित गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

महिला राजनीतिकर्मीलक्षित लैङ्गिक उत्तरदायी सञ्चार माध्यम प्रतिबद्धता ‘मिडिया कम्प्याक्ट साइनिङ सेरोमोनी २०२६’ समारोहमा गोरखापत्र राष्ट्रिय दैनिकका निमित्त प्रबन्ध सम्पादक रामप्रसाद आचार्य, अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक बालकृष्ण बस्नेत, दी हिमालयन टाइम्सका सम्पादक राजन पोखरेल, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेल, बुटवल टुडे मिडिया ग्रुपका नवराज कुँवरले हस्ताक्षर गर्नुभयो । यस्तै बाह्रखरी डट कमका सम्पादक हरिबहादुर थापा, दी रिपब्लिका सम्पादक कोषराज कोइराला, कलम साप्ताहिकका सम्पादक प्रणय राणा, नेपाली टाइम्सका सम्पादक सोनिया अवाले र गण्डकी राजिस्ट्रार विमला भण्डारीले हस्ताक्षर गर्दै मिडियामा लैङ्गिक समानाता बनाउनका साथै सामग्रीमा समेत समानता हुने बताउनुभयो । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मिडियाको नियमित अनुगमन गरेर आचारसंहिताविपरीत देखिए कारबाही गर्ने गरेको बताउनुभयो । प्रेस काउन्सिललाई कारबाही गर्ने अधिकार नदिएकाले प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न नपाएको उहाँले बताउनुभयो । सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आआफ्नो घरबाटै छोरीलाई नेतृत्वमा कसरी पु¥याउने भन्ने सवालमा सोच्नुपर्ने बताउनुभयो । गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक आचार्यले महिलालाई निर्णायक तहमा नपु¥याएम्म समानुपातिक विकाससँगै समृद्धिसमेत हासिल नहुने बताउनुभयो । सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा. महेन्द्र विष्टले महिलालाई लक्षित गरेर प्रकाशित समाचारको सङ्ख्याभन्दा प्रभावकारिता र गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताउनुभयो । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले मिडियामा विविधता भएमा समानता सन्देश जाने भएकाले यस हस्ताक्षरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने  बताउनुभयो ।