• २७ फागुन २०८२, बुधबार

आँपको बगैँचा नै खरिदबिक्री

blog

राजविराज समाचारदाता

राजविराज, फागुन २५ गते । तराईका विभिन्न जिल्लामा व्यापारीले आँपको बगैँचा नै खरिदबिक्री गर्न थालेका छन् । आँप उत्पादनका लागि प्रसिद्ध सप्तरीमा यतिबेला व्यापारीले बगैँचामै पुगेर मञ्जरको अवस्था हेरेर मोलतोल गर्न थालेका हुन् । व्यापारीले धेरै रुख भएको बगैँचा नै खरिद गरेका हुन् । 

राजविराज नगरपालिका–९ का व्यापारी मो. हनिफकले घरनजिकको आँप बगैँचामा रहेका २०/२५ वटा आँपका रूखको मञ्जर करिब ९० हजार रुपियाँमा खरिद गरेको बताउनुभयो । उहाँका अनुसार आँपमा टिकुला लागेपछि मूल्य बढ्ने भएकाले अहिले मञ्जरकै अवस्थामा खरिद गर्दा सस्तो पर्ने हुन्छ । मञ्जर खरिद गरेपछि फलको स्याहार, औषधी छर्ने तथा संरक्षण गर्ने जिम्मेवारी व्यापारीकै हुने गर्छ । 

बगैँचाधनीले समयमै उचित हेरचाह गर्न नसक्दा मञ्जर झर्ने वा किराले नोक्सान पु¥याउने जोखिम हुने भएकाले अग्रिम बिक्री गर्न बाध्य भएको बताउँछन् । ठुलो बगैँचाको रेखदेख गर्न जनशक्ति अभाव हुने भएकाले पनि मञ्जर बेच्ने गरेको शम्भुनाथ नगरपालिकाका कृषक भोला चौधरीले बताउनुभयो । “व्यापारीले मञ्जर खरिद गरेपछि फल पाक्ने समयसम्म बगैँचाको स्याहार गर्छन्,” उहाँले भन्नुभयो । फल सुरक्षित राख्न र राम्रो उत्पादन लिन व्यापारीले गर्ने मेहनत आफूहरूले गर्न नसक्ने भएकाले बगैँचा नै बिव्रmी गरेको उहाँले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतका अनुसार जिल्लमा आँपका बोटमध्ये करिब ७५ प्रतिशत मालदह, १० प्रतिशत बम्बई, कलकतिया, दसहरी, मलिकासहित अन्य १५ प्रतिशत जातका रहेका छन् । 

जिल्लाको उत्तरी भावर क्षेत्र अन्तर्गत धरमपुर, रूपनगर, घोघनपुर, जगतपुर, कञ्चनपुर, तेरहौता, प्रसबनी, बकधुवा, कुसहा, कल्याणपुर, कडरबोना र कठौनालगायत क्षेत्रमा आँप खेती भइरहेको उहाँले बताउनुभयो । 

सप्तरीमा उत्पादित आँप काठमाडौँ, विराटनगर, हेटौँडा, वीरगन्ज, पोखरालगायत देशका विभिन्न सहरमा बिक्री हुने गर्छ । राजधानीमा खपत हुने आँपमध्ये ४० देखि ५० प्रतिशतसम्म सप्तरीमै उत्पादन हुन्छ । 

यहाँ उत्पादन हुने मालदह र दसहरी जातका आँप भारतको कोलकाता र सिलिगुढीसम्म निर्यात हुने गरेका छन् भने कतार, साउदी अरबलगायत खाडी मुलुकमा पनि पठाइने गरेको छ । जिल्लामा उत्पादन भएको करिब २५ प्रतिशत आँप विदेश निर्यात हुने गरेको अवकाशप्राप्त वरिष्ठ कृषि विकास अधिकृत अनुपलाल साहले जानकारी दिनुभयो ।

यस वर्ष आँपका रुखमा प्रशस्त मञ्जर लागेकाले कृषकहरू उत्साहित छन् । गत वर्षको तुलनामा उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । 

कृषि ज्ञान केन्द्रका प्रमुख राउतका अनुसार मौसम अनुकूल रहे गत वर्षभन्दा दोब्बरसम्म उत्पादन हुन सक्ने अनुमान गरिएको छ । जिल्लामा करिब नौ हजार हेक्टर क्षेत्रफलमा आँपका बोट रहेको उहाँले जानकारी दिनुभयो ।